नेपालमा कोरोनाबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघ्यो
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाको संख्या ५४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर मदन उपाध्यायका अनुसार हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । यो तथ्यांक साउन १३ गतेसम्मको हो ।
पहिलो लहरमा २१ हजार ५२३ जना बालबालिका संक्रमित हुँदा दोस्रो लहरमा ३२ हजार ९३७ बालबालिका संक्रमित भएका छन् । डाक्टर उपाध्यायका अनुसार दोस्रो लहरमा संक्रमित भएका बालबालिकामध्ये २९ हजार ७७७ जना निको भएका छन् ।
कोरोना संक्रमणबाट पहिलो लहरमा ३८ र दोस्रो लहरमा ४३ जना गरी कुल ८१ जना बालबालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । साभारः अनलाइन खबर डटकम ।