चुरीयामाइ सुरुङलाई पर्यटन प्रवर्दनसंगै अध्ययनको विषय बनाइनेः मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडाको चुरीयामाइ मन्दिरमा रहेको सुरुङलाई पर्यटन प्रवर्दनसंगै अध्ययनको विषय पनि बनाउने बताउनु भएको छ । बिहिबार चुरीयामाइ सुरुङ पुननिर्माणको शिलान्यास गर्दै उहाँले चुरीयामाइ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फूयालले सुरुङको पुननिर्माण गर्दा गुणस्तर र सुन्दरतामा ध्यान दिइने बताउनुभयो । हरित बागमती प्रदेश बनाउने अभियानमा आफुहरु लागेको भन्दै उहाँले सडक निर्माण र पुल निर्माणको कामले तिब्रता पाएको बताउनुभयो । केही समयपछी भीमफेदी–कुलेखानी सुरुङ पनि निर्माण गरिने उहाँकाे भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपालकै पहिलो सुरुङलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न लागेको प्रति खुशी व्यक्त गर्नुभयो ।
यस्तै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले ऐतिहासीक चुरीयामाइ सुरुङ निर्माण गर्न लागिएकोमा खुशी व्यक्त गर्दै सुरुङ निर्माण पछी पर्यटक पनि बढ्ने बताउनुभयो । कार्यक्रम यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक सहदेव भण्डारीको अध्यक्षतामा भएको हो ।