पत्रकार महासंघ मकवानपुरले फिचर लेखन प्रतियोगिता आयोजना गर्दै
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले फिचर लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
महासंघको सोमबार बसेको कार्यसमिति बैठकले मकवानपुर जिल्लामा कार्यरत पत्रकारहरुलाई लक्षित गरेर सो प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो ।
प्रतियोगिताकालागि “कोरोना कहरमा शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, पर्यटन र कृषि क्षेत्रमा परेको समस्या र प्रतिकूलताका बीचमा भएका कामहरु साथै तीन तहका सरकारले खेलेको भूमिका” विषय छनौट गरिएको छ । उल्लेखित विषयमा १ हजार ५ सय शब्दमा नघटाई प्रतियोगीले फिचर लेखन गर्नुपर्ने महासंघका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
प्रतियोगीले आफ्नो फिचर सामग्री आउँदो साउन २५ गतेभित्र महासंघ मकवानपुर शाखाको इमेलमार्फत उपलब्ध गराउनुपर्ने महासंघले मंगलबार एक सूचना जारी गर्दै उल्लेख गरेको छ ।
प्रतियोगितामा प्रथम् हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने महासंघका कार्यक्रम उपसमितिका संयोजक धु्रव अधिकारीले जानकारी दिए ।
साथै उत्कृष्ट ७ जनालाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने पनि महासंघ मकवानपुर शाखाले जनाएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन चाहाने पत्रकारहरुले थप केही बुझ्न चाहेमा कार्यक्रम उपसमितिका संयोजक अधिकारीसंग फोन सम्पर्क गर्न महासंघले अनुरोध गरेको छ ।