दिदीभाई मिलेर बाबुको काजकिरिया गर्दै

छोरीले गरेको मृत्युकर्मले पितृ तर्दैनन् भन्ने मान्यता फेरिन थालेको र अनिताले छोरा हुँदाहुँदै समेत बाबुको मृत्युकर्म गरेकामा खुसी लागेको पुरोहीत लिलानाथ प्याकुरेल बताउँछन् ।
भावना रिजाल
साउन १०, २०७८

भावना रिजाल/ हेटौंडा उपमहानगरपालिका –६ रामनगरकी अनिता गौतम छोरा सरह बुबाको किरियाकर्म गरिरहेकी छन् । बुबा हरिप्रसाद गौतमको निधन भएपछि अनिता भाइसँगै बुबाको काजकिरिया गरिरहेकी हुन्। अनिताले भाइजस्तै कपाल खौरिएकी छैनन् । तर, सेतो कपडा लगाएर कोरा बसेकी छन् । छोराले झैँ उनले १३ दिन सम्पूर्ण कर्म गर्नेछिन् ।

यसअघि प्रायः छोराले नै बाबुआमाको काज किरिया गर्नुपर्छ भन्ने मान्यता थियो, नेपाली समाजमा । तर, अहिले छोरीले किरियाकर्म गरेका थुप्रै उदाहरण छन् । यद्यपि, पुरानो चिन्तन अझै बाँकी नै छ ।

अनितालाई पनि आफन्तले भनिहाले, ‘छोरा नभए पो छोरीले क्रिया गर्छन्, छोरा हुँदा हुँदै किन बस्नु’ भनेर । आफन्त र छिमेकको कुरा उनले सुनिनन् । र, बुबाको किरिया बसिन् ।

अनिताले भाइसँगै बुबाको किरियाकर्म गर्नु आफ्नो कर्तव्य हो, भनिन् । उनले भनेकी छन्, “बुबाले हामीलाई हुर्काउँदा छोरा वा छोरी भनेर कहिल्यै विभेद गर्नु भएन । समान व्यवहार गर्नुभयो । समान माया दिनुभयो । ज्यूँदोमा उहाँका लागि हामीले केही गर्न पाएनौं । भाइले गर्ने ठाउँमा मैले किन गर्नु हुँदैन, काजकिरिया?’

श्रमिक माध्यामिक विद्यालय कर्रामा ९ कक्षा पढ्दै गरेकी अनिताले छोरा सरह अधिकार मात्र माग्ने होइन कर्तव्य पनि निभाउनु पर्छ भन्ने सन्देश दिन समेत आफु कोरा बसेको बताईन् । अहिले १३ दिने संस्कार मात्र नभई हरेक तिथि अर्तात् श्राद्ध समेत अनिताले गर्ने भएकी छन् ।

बुबाको मृत्युकर्ममा दिदी सहभागि भएको भाई मनिषलाई समेत असाध्य मन परेको छ । उनी भन्छन्, ‘यस्तै हिम्मत सबै छोरीले गर्नुपर्छ । बुबाको आत्मशान्तिको लागि छोरा सरह दिदीले काजकिरिया गर्नु भएको छ, म यसलाई आदर गर्छु ।’

छोराको मृत्युले शोकमय अनिताका हजुरबा षडानन्द गौतमले समेत नातिनी किरिया बस्दा गर्व लागेको बताए । ७५ वर्षकोे उमेरसम्म आउँदा छोरीले किरिया बसेको रे भन्ने मात्रै सुनेको थिएँ, उनले भने, ‘हिजो सुनेको मात्रै थिएँ । आज आफ्नै घरमा, आफ्नै आँखाले देखेँ । नातिनीले आफ्नो बाबुलाई तर्पण दिइरहेकी छन् ।’

स्थानीय एलिस सञ्जेलले समेत छोरा–छोरी सँगै मृत्यु संस्कारमा बस्नु उदाहरणीय रहेको बताए । उनले भने – ‘‘काजकिरिया गर्नका लागि भए पनि छोरा चाहिन्छ भन्ने मान्यतालाई अनिताले चिरेकी छन् । महिलाले ढिकुरोमा जानसम्म नहुने गलत मान्यता छ । यस प्रकारका गतल मान्यतालाई परिमार्जन गर्नुपर्छ’’ भनेका छन् ।

अहिले छोरीले किरिया कर्म गर्नु हुँदैन र छोरीले गरेको मृत्युकर्मले पितृ तर्दैनन् भन्ने मान्यता फेरिन थालेको र अनिताले छोरा हुँदाहुँदै समेत बाबुको मृत्युकर्म गरेकामा खुसी लागेको पुरोहीत लिलानाथ प्याकुरेल बताउँछन् ।
३० वर्षदेखि जजमानी गर्दै आएका उनले यसरी छोराछोरी सँगै किरियाकर्ममा बसेका पहिलो पटक देखेको र यसरी किरियाकर्म गराएको समेत पहिलो पटक भएको बताए । यसबाट आफ्नो चित्त शान्त भएको समेत उनले सुनाए ।

हिन्दु तथा वैदिक सनातनीहरु छोराले गरेको तर्पण मात्रै पितृले पाउँछन्, भन्ने मान्यता राख्छन् । तर, त्यो मान्यता अब तोडिदैछन्, छोरीहरुले । अनिताहरुले ।

१३ वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका हरिप्रसाद गौतमको उच्च रक्तचापका कारण वैशाख २८ गते मलेसियामै निधन भएको थियो । लकडाउनका कारण उनको शव नेपाल ल्याउन ढिला भयो । साउन २ गते मात्र उनको शव नेपाल ल्याइएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*