मकवानपुर सहित तीन जिल्लामा ४३ हजार जनालाई कोरोना विरुद्धको खोप लगाईदै

छहारी संवाददाता
असार २९, २०७८

मकवानपुर जिल्ला सहित तीन जिल्लाका ४३ हजार जना लक्षित समुहका नागरिकलाई कोरोना भाइरस बिरुद्धको खोप लगाइने भएको छ । सरकारले चीनबाट खरिद गरेर ल्याएको कोरोनाविरुद्धको खोप बागमती प्रदेशको राजधानी हेटौंडाबाट तीन जिल्लामा आज बितरण गरिने र नागरिकलाई खोप लगाइने भएको हो ।

मकवानपुर, चितवन र सिन्धुली जिल्लमा ४३ जनालाई दुइ डोजका दरले लगाउन मिल्नेगरी खोप ल्याइएको र बितरण गर्न लागिएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तरगतको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले जानकारी दिनुभयो ।

संघीय सरकारले पठाएको खोप पथलैयामा वाकिङ कुलर रुममा राखिएको उहाँले बताउनुभयो । खोप लगाउनका लागि सरकारले लक्षित समुह तोकेको छ । यसअघि प्रदेशका उपत्यका भन्दा बाहेकका जिल्लाका ४५ हजार जना नागरिकले भेरोसेल खोप लगाइसकेको अधिकारीले जानकारी दिनुभयो ।

चिसोमा राख्नका लागि हेटौंडामा ठाउँ अभाब भएपछी केन्द्रले पथलैयामा राखेको र आवस्यक्ता अनुसार प्रदेशका जिल्लाहरुमा बिवतरण गर्ने उहाँले बताउनुभयो ।

आएका खोपहरु यसअघि पनि बितरण गर्ने र स्थानीय तह मार्फत लगाइदै आएको छ । हाल सम्म बागमती प्रदेशमा ५ लाख ६० हजार ७८ जनाले खोप लगाइ सकेका छन् । चीनसँग खरिद गरिएको ४० लाख भेरोसेल खोपमध्ये शुक्रबार ८ लाख मात्रा ल्याइएको छ । बाँकी खोप साउन पहिलो सातासम्म ढुवानी गरिसक्ने सरकारको योजना छ ।

सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपका लागि लक्षित समूह छुट्याइएको छ । भेरोसेल ५५ वर्ष र माथिको उमेर समूहका सबै नागरिकलाई लगाइनेछ । यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले जानकारी दिनुभयो ।

सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरू, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइनेछ । हिजो मात्रै नेपाल आइपुगेको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइनेछ ।

जोनसन खोपको मात्रा एक पटक मात्र दिए पुग्छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरूमा खोप लगाउन छुट भएका सबै जनालाई खोप लगाउने विभागका महानिर्देशक डा सिंहले जानकारी दिनुभयो ।

खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र आवश्यक प्रमाणपत्र नभए वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ । अहिलेसम्म नेपालमा कुल जनसङ्ख्याको ८।८ प्रतिशत जनसङ्ख्या अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ३ दशमलव ५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*