भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप अभियान आजदेखि सुरु हुँदै

छहारी संवाददाता
असार २९, २०७८

सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपका लागि लक्षित समूह छुट्याइएको छ । भेरोसेल ५५ वर्ष र माथिको उमेर समूहका सबै नागरिकलाई लगाइनेछ । यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जानकारी दिनुभयो ।

सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरू, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइनेछ । हिजो मात्रै नेपाल आइपुगेको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइनेछ ।

जोनसन खोपको मात्रा एक पटक मात्र दिए पुग्छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरूमा खोप लगाउन छुट भएका सबै जनालाई खोप लगाउने विभागका महानिर्देशक डा सिंहले जानकारी दिनुभयो ।

खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र आवश्यक प्रमाणपत्र नभए वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ । अहिलेसम्म नेपालमा कुल जनसङ्ख्याको ८.८ प्रतिशत जनसङ्ख्या अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ३ दशमलव ५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।  साभारः उज्यालो अनलाइन डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*