कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक बस्दै
पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजोको लागि डाकिएको बैठक कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आजका लागि सारिएको हो ।
बैठक आज सांझ ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी गरेका छन् । हिजो भएको सहमतिमा दुई शीर्ष नेताहरुलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरुको भनाइ छ ।
कार्यदलले पार्टी विवाद समाधानका लागि दश बुँदे सहमतिको प्रस्ताव तयार पारेको छ । विगत केही समययता पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक–शुभेच्छुकहरू चिन्तित रहेकाले एकता अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ ।
दोस्रो तहका नेताहरुले गरेको सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाउनुभएको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न खोजेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको हो । साभाारः उज्यालो अनलाइन डटकम ।