बागमती गाउँपालिकाद्वारा देवकी माध्यमिक विद्यालयलाइ बस हस्तान्तरण
बागमती गाउँपालिकाले देवकी माध्यमिक विद्यालयलाइ बस हस्तान्तरण गरेको छ ।
बागमती गाउँपालिको शैक्षिक शुधार कार्यक्रम अन्तरगत विनियोजित ३० लाख रुपैया बजेटबाट स्कुलबस खरिद गरि हस्तान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष सर्केश घलानले आइतबार एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर थापा र विद्यालय व्यवस्थापन समिती अध्यक्ष हस्त बहादुर थिङलाइ बसको साँचो हस्तान्तरण गर्नु भएको हो ।
साँचो हस्तान्तरण गर्दै अध्यक्ष घलानले सरकारी विद्यालयमा शैक्षिक सुधार गर्न गाउँपालिका लागी परेको बताउनुभयो । शिक्षामा आउने चुनौती सामना गर्न सदैब तयार रहेको भन्दै उहाँले सबै बालबालिकालाई शिक्षाको पँहुचमा पुर्याउने जिकिर गर्नुभयो ।
बस हस्तान्तरणले विद्यालयमा विद्यार्थीको उपस्थिती उल्लेख्य बढ्ने तथा शैक्षिक गुणस्तरमा सुधार ल्याउन मद्दत पुग्ने उहाँको विश्वास छ । गाउँपालिकाले एमविविएस डाक्टर उत्पादन गर्ने गरि निती तथा कार्यक्रम ल्यायको भन्दै उहाँले यसलाइ प्राथामिकतामा राख्ने बताउनुभयो ।
यस्तै समाजसेवी तथा विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष खडग पुलामीले बसले पैदल नै अध्ययनका लागि विद्यालय आउनु पर्ने बाध्यता हट्ने भन्दै शैक्षिक सुधारको लागि गाउँपालिकाले महत्वपूर्ण कामको थालनी गरेको बताउनुभयो । अब विद्यालयमा टाढा बाट आउने विद्यार्थी पढ्दा थकाई लाग्ने, पढ्न मन नलाग्ने, गृहकार्य गर्न नपाईने जस्ता समस्या समाधान हुने उहाँको विश्वास छ ।
विद्यालयका प्रधानाध्यापक थापाले बस सहयोग गरेकोमा गाउँपालिकालाई धन्यवाद दिनुभयो। कार्यक्रमा बागमती गाउँपालिकाका कार्यकारी प्रमुख शुक्रमान राइ, बागमती गाउँपालिकाका ४ नं वडा अध्यक्ष रहर सिङ थिङ, बागमती गाउँपालिकाका ५ नं वडा अध्यक्ष बुद्वीमान माझी, लेखा प्रमुख झम्क घलान, शिक्षा साखा प्रमुख रमेश बिडारी लगायतको उपस्थिती रहेको थियो। देवकी माध्यमिक ५ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् ।