विद्युतीय सवारी सञ्चालनमा अवरोध भए भावीपुस्ताप्रति अन्याय हुन्छः मन्त्री फुयाँल
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले विद्युतीय सवारी सञ्चालनमा अवरोध भइरहेको प्रति आश्चर्य प्रकट गर्नु भएको छ ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री फुयाँलले वातावरण मैत्री नवीकरणीय उर्जाबाट चल्ने सवारी सञ्चालन गर्ने काममा अवरोध गरिए भावीपुस्ताप्रति अन्याय हुने बताउनुभयो । प्रदेश सरकारले हरित प्रदेशको अवधारणा अनुरुप वातावरणमैत्री विद्युतीय बस सञ्चालन गरेर स्वच्छता अभियानको उद्घोष गर्न लागेको भन्दै उहाँले यसमा साथ दिन सबै पक्षलाई आह्वान गर्नुभयो ।
मन्त्री फुयाँलले विद्युतीय बस खरिद, पूर्वाधार निर्माण तथा सञ्चालनका हरेक क्रियाकलापहरु पारदर्शी हिसाबले हुने भन्दै अन्य कुनै बहाना वा कारण देखाएर रोक्नु नहुने धारणा राख्नुभयो ।
धादिङमा प्रदेश सरकारले निर्माण गर्न लागेको चार्जिङ्ग स्टेसनलाई लक्षित गरेर प्रदेश सरकारका पूर्वमन्त्री शालिकराम जम्कट्टेलले कुनैपनि अवस्थामा स्टेसन बन्न नदिने भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै मन्त्री फुयाँलले सरकारको उद्देश्य र योजनामा पूर्वमन्त्रीलाई सहमत गराएर पहिला धादिङमै स्टेसन बनाइने बताउनुभयो ।
मन्त्री फुयाँलले सरकारले हेटौंडा, भरतपुर, नुवाकोट, बालाजु नयाँ बसपार्क, धुलिखेल तथा काठमाडौंका दुईवटा यातायात व्यवस्था कार्यालय लगायतका स्थानमा चार्जिङ मेसिन राखि सुविधा सम्पन्न विद्युतीय बस सुलभ भाडा दरमा प्रदेशवासीको लागि सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।