नेदरल्याण्ड्समा प्रतिष्ठित अपराध पत्रकारमाथि सडकमै गोली प्रहार
नेदरल्याण्ड्सका प्रतिष्ठित अपराध पत्रकार पिटर आर डी भ्रिसमाथि गोली प्रहार भएको छ । उनीमाथि आम्सटर्डामको सडकमा गोली प्रहार भएको हो ।
गोली लागेका उनी गम्भीर घाइते भएका छन् । सिटी सेन्टरमा स्थानीय समय अनुसार मंगलबार साँझ उनीमाथि गोली प्रहार भएको हो । गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ ।
टेलिभिजन संवाद कार्यक्रममा प्रस्तुत भएको केही मिनेटपछि नै उनीमाथि आक्रमण भउको राष्ट्रिय टेलिभिजन एनओएसले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेका उनी जमिनमा लडिरहेको देखिन्छ सार्वजनिक भएका भिडियोहरुमा । एनओएसले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दिएको खबर अनुसार आक्रमणकारीले पाँच राउण्ड गोली प्रहार गरेका थिए ।
आपराधिक मामिलाको रिपोर्टिङ्गमा खोज पत्रकारका रुपमा काम गरेको उनलाई यसअघि धम्की आएपछि प्रहरी सुरक्षा प्रदान गरिएको थियो ।
आम्सटर्डामका मेयर फेम्की हाल्सेमाका अनुसार पिटरले जीवनसँग लडिरहेका छन् ।
पिटरमाथि भएको आक्रमण निर्मम र हृदयहिन रहेको बताएका छन् । घटनामा संलग्न भएको आशंकामा तीनजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले प्रत्यक्षदर्शी र सिसिटिभी फुटेजका लागि अपील गरेको छ । तर कुनै पनि सामग्री सामाजिक सञ्जामा साझा नगर्न आग्रह पनि गरेको छ ।
पत्रकार पिटर आफूले रिपोर्टिङ्ग गर्दै आएका जस्तै अपराधको निशाना बनेका छन् ।