प्रतिनिधि सभा पुनर्स्थापना हुने, देउवा प्रधानमन्त्री बन्ने प्रचण्डकाे विश्वास

रासस
असार २२, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।

धनुषा निवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवकाे निधनमा श्रद्धाञ्जली दिन आज जनकपुरधाम आउनुभएका अध्यक्ष दाहालले सर्वोच्च अदालतमा बुझाइएको एक सय ४६ सांसदको हस्ताक्षरका आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताउनुभयो ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेसी असार २८ गतेका लागि तोकिएको छ । अध्यक्ष दाहालले प्रधानमन्त्रीले अदालतलाई अनावश्यक दबाब दिन खोजेको आरोप पनि लगाउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले संविधान त्रुटिपूर्ण रहेको स्वीकार्दै संशोधनका पक्षमा आफू रहेको स्पष्ट गर्नुभयो । उहाँले प्रदेश नम्बर २ को नाम मधेश रहनुपर्ने पनि बताउनुभयो ।

अध्यक्ष दाहालले दिवङ्गत पार्टी केन्द्रीय सदस्य यादवकाे पार्थिव शरीरमा दलको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । धनुषाको शहीदनगर नगरपालिका १ बालाबाखरका नेता यादव लामो समयदेखि अर्बुद रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ जनयुद्धका बेलादेखि नै माओवादीमा सक्रिय हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*