बागमती प्रदेशका मुख्यमन्त्रीलाई पार्टी भित्रै असहयोग

बजेट सदनबाट पास नहुने अवस्था आएपछि सरकार अप्ठेरोमा, एमालेकै खनाल–नेपाल समूह पनि बजेटको विपक्षमा
सुवास विडारी
असार २२, २०७८

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार समस्यामा परेको छ । मुख्यमन्त्रीको पद सम्हालेदेखि नै आफ्नै पार्टीभित्रैबाट असहयोगका कारण चेपुवामा पर्दै आएका मुख्यमन्त्री पौडेल आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सदनबाट पास नहुने अवस्था सिर्जना भएसँगै थप अप्ठेरोमा परेका हुन् ।

विपक्षी दलहरूको मोर्चाबन्दी र आफ्नै दलभित्रको खनाल–नेपाल समूह बजेटको विपक्षमा रहेका कारण सदनबाट बजेट पास हुने अवस्था छैन । जसका कारण पछिल्लो समयका प्रदेशसभा र संसदीय दलको बैठक पेचिलो बनिरहेका छन् । वाग्मतीमा सत्तारूढ एमालेको एकल बहुमत भए पनि खनाल–नेपाल समूहले प्रतिनिधिसभा पहिलो पटक विघटन भएदेखि नै पौडेलको साथ छाडिसकेका छन् । पार्टी एकताका लागि सन्देश दिने भन्दै आगामी आवको नीति तथा कार्यक्रम एमालेले एक भएर पारित गरे पनि सरकार सञ्चालनमा महत्त्वपूर्ण मानिने बजेट पास गर्ने समयमा सांसदहरू विभाजित भएका हुन् ।

सदन विघटनदेखि केन्द्रीय राजनीतिको प्रभाव प्रदेश तहमा प्रस्ट रूपमा देखिएको छ । अहिले सरकार प्राविधिक रूपमा बलियो देखिए पनि अल्पमतमा रहेको आरोप पटक/पटक विपक्षीहरूले लगाइरहेका छन् । ‘बजेट पास गराउने विषयमा प्रदेश र केन्द्रीय तहको नेतासँग छलफल गर्नै बाँकी छ । पहिलो कुरा सरकारले त्यसको वातावरण तयार गर्नुपर्ने हुन्छ,’ एमाले नेता अष्टलक्ष्मी शाक्यले तत्काल यस विषय टुंगो नलाग्ने बताइन् ।
स्रोतका अनुसार एमालेभित्रको विवाद चरमोत्कर्षमा पुगेको र प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतको अन्तिम फैसलापश्चात् मात्र प्रदेश तहमा देखिएको राजनीतिक ध्रुवीकरणले मूर्तरूप लिनेछ । हाल प्रदेशमा रहेका १ सय ९ सांसदमध्ये एमालेका ५६ जना छन् । जसमध्ये खनाल–नेपाल समूहको २३ मत रहेको छ ।

प्रदेशमा माओवादीको २३, कांग्रेसको २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टी र राप्रपाका २/२ तथा एक जना स्वतन्त्र सांसद रहेका छन् । हाल ओली समूहका ३३ जना सांसदबाहेक विपक्षी मोर्चामा खनाल–नेपाल समूहसहित ७६ जना सांसद विरुद्धमा रहेका छन् । विपक्षी दलहरू प्रतिनिधिसभा विघटनदेखि नै मोर्चाबन्दी गरेर लगातार रूपमा पौडेल नेतृत्वको सरकारविरुद्ध धावा बोलिरहेका छन् ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले पनि वाग्मती प्रदेश सरकार अल्पमतमा रहेको दाबी गरे । ‘तत्कालीन अवस्थामा अविश्वासको प्रस्ताव दर्ता भएपश्चात् सरकारले विश्वासको मत लिनुपर्ने हुन्थ्यो । तर त्यसो भएन । सदन छलेर भाग्ने काम भयो,’ उनले भने । उनले सरकार प्राविधिक रूपमा बलियो देखिए पनि विश्वासको मत गुमाइसकेको बताए । ‘आफ्नै दलका आधा सांसद सरकारविरुद्धमा छन् । सरकार अल्पमतमा रहेको विषय छिट्टै पुष्टि हुन्छ,’ उनले दाबी गरे ।

मुख्यमन्त्रीका विश्वास पात्र तथा एमाले मुख्य सचेतक दीपक निरौलाले केन्द्रीय राजनीतिको प्रभाव प्रदेश तहमा पर्नु स्वाभाविक भएको बताउँदै विपक्षीले लगाएको आरोप जस्तो सरकार अल्पमतमा नरहेको दाबी गरे । ‘हाम्रो दलमा समस्या छैन । हामीले नीति तथा कार्यक्रम बहुमतले पास गरेर देखाइसकेका छौं,’ उनले भने । उनले सदनबाटै बजेट पास गर्ने ढोका प्रतिपक्षीले बन्द गरेको बताए ।

बजेट पास गराउन र पार्टीभित्रको विवादलाई सुल्झाउन मुख्यमन्त्री पौडेलले पटक/पटक संसदीय दलको वैठक राखे पनि ठोस निर्णय हुन सकेको छैन । गत शुक्रबार र शनिबार हेटौंडामा बसेको संसदीय दलको बैठकमा ओली र खनाल–नेपाल समूहबीच विवाद सिर्जना भएको थियो ।

प्रदेशसभा लगातार अवरोध

बागमती प्रदेशसभाको बैठकमा विपक्षी दलहरूले मोर्चाबन्दी गरेर लगातार अवरोध सिर्जना गरिरहेका छन् । सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक करिब ५० मिनेट ढिलो गरी सुरु भए पनि प्रतिपक्षी दलहरूले अवरोध सिर्जना गरेसँगै स्थगित भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेका हुन् ।

बैठकको सुरुवातमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटप्रति असहमति प्रकट गरेका थिए । ‘बजेटका विषयमा मुख्यमन्त्रीसँग समझदारी र निष्कर्षमा हामी नपुगेसम्म बैठक नराख्न आग्रह गर्दछौं,’ नेता जम्मकट्टेलले भने ।

प्रतिपक्षी दलहरूको विरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । विपक्षीको अवरोधका कारण शनिबारदेखि प्रदेशसभाको बैठक लगातार प्रभावित भइरहेको छ । विपक्षी दलहरूले उठाएको विभिन्न विषयमा सरकारले सदनमा जवाफ दिने कार्यतालिका भए पनि बैठक सञ्चालनमा विपक्षीहरूले अवरोध सिर्जना गरेका हुन् ।

विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याएको, समपूरक बजेट र योजनाको बाँडफाँट न्यायोचित वितरण नभएको तथा प्रदेश सरकारले आफैं आमसञ्चार गृह सञ्चालन गर्ने विषय फिर्ता लिनुपर्ने भन्दै प्रतिपक्षी दलहरूले संसद्मा अवरोध सिर्जना गरेर मोर्चाबन्दी गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाले बजेटलाई प्रभावकारी बनाउन आफूहरूको पनि योजनालाई समेट्नुपर्ने माग गरिरहेका छन् । साभारः इकान्तिपुर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*