चितवन घटनाका दाेषीलाई कानुनी कठघरामा उभ्याउन कांग्रेसकाे माग

छहारी संवाददाता
असार २१, २०७८

नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्युले गम्भीर आशङ्का जन्माएको जनाएको छ ।

नौ दिनसम्म नभेटिनु, कसैको नियन्त्रण वा अपहरणमा परेको सूचना दिएपछि पनि खोज र अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा ती युवतीको जङ्गलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गर्नुभएको छ । देशका विभिन्न भागमा महिलामाथि अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक–पटक भएको उल्लेख गर्दै उहाँले विज्ञप्तिमा यो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न आवश्यक भइसकेको भन्नुभएको छ ।

उहाँले यस्ता घटनाको गहिरो अनुसन्धान र कारबाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै विशेष बन्न र बनाउन अत्यावश्यक भएको उल्लेख गर्नुभयो । उहाँले चितवनको घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्न माग गर्दै यसमा सबैको ध्यानाकर्षण गराउनुभएको छ ।  साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*