बागमती प्रदेशसभाको बैठक अवरुद्ध

सुवास विडारी
असार १९, २०७८

बागमती प्रदेशसभाको बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले प्राकृतिक विपद् व्यवस्थापनलाई पूर्णरुपमा बेवास्ता गरेको आरोप लगाउँदै विपक्षी दलहरुले सदनमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक स्थगित गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दल कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपाका सांसदहरुले बजेटको विषयमा फरक मत राख्दै बैठकमा उठेर विरोध जनाएका थिए ।

विपक्षी दलहरुले सरकारले बजेटमा विपद् व्यवस्थापनलाई बेवास्ता गरेको, आफै आमसञ्चार गृह सञ्चालन गर्न लागेको, विद्युतीय बस सञ्चालनका लागि बजेट विनियोजन गरेको र गुटको आधारमा बजेट विनियोजन गरिएको भन्दै सदनमा विरोध जनाएका थिए ।

‘प्राकृतिक विपद् र कोभिडको समयमा सरकार जिम्मेवार भएन । स्थानीय तहलाई पठाउने बजेटमासमेत पार्टीगत आधारमा पठाइयो । जसको कारणले गर्दा हामी सदनमा अवरोध सिर्जना गर्न बाध्य भयौं’, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने । उनले विपक्षी दलहरुको माग सम्बोधन नभएसम्म सदन सञ्चालन गर्न नदिइने बताए ।

सभामुख श्रेष्ठले प्रदेशसभाको अर्को बैठक असार २० गते आइतबार बिहान ११ बजेका लागि डाकेका छन् । साभारः इकान्तिपुर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*