‘सिन्धुपाल्चोकको विपद्लाई सरकारले बेवास्ता गर्‍यो’

छहारी संवाददाता
असार १८, २०७८

बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकमा गएको बाढीपहिरोलाई बेवास्ता गरेको आरोप सांसदहरुले लगाएका छन् ।देशसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले संघीय र प्रदेशले सिन्धुपाल्चोक विपद् पीडितप्रति बेवास्ता गरेको भन्दै आक्रोश पोखेका हुन् । उनीहरुले प्रदेश सरकारले सिन्धुपाल्चोकमा राहत र पुनर्निर्माणको काम थाल्नुपर्नेमा जोड दिएका छन् ।

प्रदेशसभामा सिन्धुपाल्चोकका सांसद निमा लामाले राजधानीको तिर्खा मेटाउने मेलम्ची र पाँचपोखरीमा अर्को पार्टीको स्थानीय सरकार भएकै कारण बेवास्ता गरिएको आरोप लगाए । उनले प्रदेश सरकारले अहिलेसम्म सिन्धुपाल्चोक विपद् पीडितका लागि कुनै योजना नल्याएको भन्दै आपत्ति जनाए । ‘सरकारले यसरी पक्षपाती काम गर्नुहुँदैन’, उनले भने । सांसद लामालाई बेपत्ताको खोजी र घाइतेको उपचार गर्न, सम्पूर्ण सम्पत्ति बगाएकाहरूको बारेमा ठोस योजना ल्याउन, सडक र पुल बगाएकाले तत्काल व्यवस्था गर्नुपर्ने उनले बताए ।

सांसद रमेश पौड्यालले सरकार सिन्धुपाल्चोक विपद्प्रति प्रदेश सरकार गैरजिम्मेवार बनेको आरोप लगाए । उनले सरकारले विपद् न्यूनिकरणका लागि पूर्वतयारीको काम गर्न चुक्दा पटकपटक सिन्धुपाल्चोकबासी विपद्को पीडा झेल्न बाध्य भएको बताए ।

प्रदेश सरकारलाई तत्काल स्थानीय सरकार र संघसंस्थासंग सहकार्य गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए । सांसद युवराज दुलालले सिन्धुपाल्चोकमा भएको जनधनको क्षतिमा प्रदेश सरकारले ठोस काम थाल्नुपर्नेमा बताए । उनले अर्बौं रकम लिएर प्रदेश सरकारले सिन्धुपाल्चोकका लागि केही नगरेकोप्रति उनको आक्रोश पोखे । उनले सिन्धुपाल्चोकको विपद् क्षेत्र वाग्मती प्रदेशमै छ भन्ने प्रश्न गर्दै सरकारले नालायकीपन देखाएको बताए ।

सांसद राजेन्द्र पाण्डेले सिन्धुपाल्चोकमा विपद्बाट समस्यामा परेकाहरुलाई राहतको काम गर्नुपर्ने, यातायात सुरु हुने व्यवस्था गर्नुपर्ने र खोला व्यवस्थापन गरी बाँकी रहेको बस्ती र खेतबारी संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सांसद दिपेन्द्र श्रेष्ठले सिन्धुपाल्चोकमा प्रदेशका मन्त्री हेलिकप्टरमा पुगे पनि अझै राहत नपुगेको भन्दै आपत्ति जनाएका थिए । प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मन्त्रीहरू हेलिकप्टरमा सिन्धुपाल्चोक जाने तर राहत नपुग्ने अवस्थाको अन्त्य हुनुपर्नु बताएका हुन् । उनले जनतालाई विकास नदिए पनि राहत यथाशीघ्र उपलब्ध गराउन माग गरे ।

सांसद सुरेन्द्रराज गोसाईंले वाग्मती प्रदेश सरकार हेटौंडामा नभइ सिन्धुपाल्चोकमा पुगोस् भन्दै कटाक्ष गरे । विपदको हेलिकप्टरबाट अवलोकन गरी सरकारले प्रतिवेदन मात्रै तयार गर्ने भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । बैठकमा प्रदिपकुमार कटुवाल क्षेत्रीले सिन्धुपाल्चोक र सिन्धुलीमा भएका विपदमा सरकारले ध्यान दिनुपर्नेमा जोडदिए ।

सांसद घनश्याम दाहाल, विशाल खड्का, राजकाजी महर्जन, रिना गुरूङ, रमा आले मगर लगायतले धारणा राखेका थिए । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल समितिले सिन्धुपाल्चोकमा गरेको अवलोकनको प्रतिवेदन संसदमा पेश गरेका थिए ।    साभारः इकान्तिपुर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*