मकवानपुरमा विरोध र्यालीसहित राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
अनेरास्ववियु क्रान्तिकारीले बिहिबार मकवानपुरमा विरोध र्यालीसहित राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमको विरोध गर्दै मकवानपुरमा पुत्ला दहन गरेको हो । केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको क्रान्तिकारीका मकवानपुर इन्चार्ज तथा केन्द्रीय सदस्य दिनेश सुवेदीले जानकारी दिनुभयो ।
सहसंयोजक श्रावणकुमार बर्तौलाको उपस्थितिमा मकवानपुर बहुमुखी क्याम्पसबाट निस्किएको र्याली जिल्ला प्रशासन कार्यालय जाने रोडमा पुगेर नारा सहित पुत्ला दहन गरिएको थियोे । र्यालीमा ‘प्रतिगमन कारी होसियार, संसद विघटन खारेज गर, के पि तेरो पाराले दुख पाय साराले, जातिय छुवाछूत बन्द गर’ जस्ता नाराहरु लगाइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज सुवेदीले प्रतिगमनकारी कदम नसच्चिए आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।