१०९ सांसदलाई पत्रकार महासंघ बागमती प्रदेश समितिको ज्ञापनपत्र

छहारी संवाददाता
असार १७, २०७८

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बागमती प्रदेशका १०९ सांसदलाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेश सरकारले आफै आम संचारगृह संचालन गर्न बजेट विनियोजन गरेकोप्रति १०९ सांसदलाई ध्यानाकर्षण सहित आज बिहीबार ज्ञापनपत्र बुझाएको हो ।

पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारू मगरसहितको टोलीले केही सांसदलाई भेटेर र अन्य सांसदलाई संसदीय दलमार्फत ज्ञापनपत्र बुझाएको हो । महासंघले सभामुख, उपसभामुख, संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदलाई ज्ञापनपत्र बुझाएको छ । ११० सांसद रहेको प्रदेशसभामा सांसद पशुपति चौलागाईंको निधन भएकोले १०९ जना मात्रै रहेका छन ।

‘बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्वतन्त्र प्रेस, लोकतन्त्रको मुल्य मान्यता बिपरित प्रदेश सरकार आफैले आम सञ्चारगृह स्थापना गर्ने गरी बजेट ल्याएकोप्रति आमसञ्चार क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ’, ज्ञापन पत्रमा भनिएको छ, ‘देशकै ठूलो हिस्सा ओगटेको बागमती प्रदेश भित्रको सञ्चार क्षेत्रलाई कुनै सम्बोधन नगरेकोप्रति आपत्ति प्रकट गर्दै सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गर्दछौं ।’

सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गर्दै उक्त निर्णय फिर्ता नभए महासंघ कडा आन्दोलनमा उत्रन बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा महासंघले प्रदेश सरकारले आम संचारगृह संचालन गर्ने निर्णय फिर्ता गराउन भूमिका खेलिदिन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*