अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्धः सामाजिक विकासमन्त्री बस्नेत

छहारी संवाददाता
असार १६, २०७८

बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले अपाङ्गता भएका व्यक्तिलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

बुधबार अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायता सामग्री वितरण गर्दै मन्त्री बस्नेतले उनिहरुले सिप र क्षमता अनुसारको आर्थिक क्रियाकलाप गर्न सक्ने वातावरण बनाउन आवश्यक कार्यक्रमहरु बजेटमा राखेको बताउनुभयो । मन्त्रालयले राष्ट्रिय अपाङग कोषसँगको साझेदारीमा १० लाख रुपैयाँ बराबरको अपाङ्ग सहायता सामग्री वितरण गरेको हो ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको अपाङ्ग सहायता सामग्री वितरण कार्यक्रमका सहभागीहरुले परिवारमा अपाङ्गता भएको व्यक्तिलाई सबलाङ्ग व्यक्तिलाई भन्दा फरक व्यवहार गर्ने गरेको तथा घरभित्रै राख्ने गर्दा पछाडि पर्ने गरेको बताएका छन् ।

कार्यक्रममा सहभागी ४९ जना विभिन्न प्रकारण अपाङ्गता भएका व्यक्तिलाई सेतो छडी, ह्वील चेयर, कृतिम खुट्टा, वाकर लगायतका सामग्री वितरण गरिएको थियो । प्रदेशका एकसय जनालाई सहायता सामग्री वितरण गरिने कार्यक्रम रहेकाले अन्यलाई प्रत्येक जिल्लामै उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय अपाङग महासंघको समन्वयमा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, राष्ट्रिय अपाङग कोषका सभापति रमेश लामालगायतले मन्तव्य राख्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*