जिसस मकवानपुरकी सदस्य स्याङ्तानको ५८ वर्षको उमेरमा निधन
जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सानोकान्छि स्याङ्तानको ५८ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
ईमान्दार एवम् निष्ठावान सदस्य स्याङ्तानको आइतबार बिहान ४ बजेर ३० मिनेटमा राक्सिराङ गाउँपलिका वडा नम्बर–३, झिल्किने स्थित आफ्नै निवासमा निधन भएको हो । कोरोना संक्रमित भइ राक्सिराङको चैनपुरस्थित आइसोलेसन वार्डमा उपचार गराइ रहनु भएकी स्याङ्तानको स्वास्थ्यमा समस्या भएपछि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।
हेटौंडा अस्पतालमा पनि केही दिनको उपचारपछि स्वास्थ्यमा जटिलता भएसँगै उहाँलाई थप उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेज लगिएको थियो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमणमुक्त भएपनि निमोनिया तथा दमसम्बन्धी स्वास्थ्य समस्या भएकोले उहाँ गम्भीर रुपमा प्रभावित हुनुभएको थियो । स्वास्थ्य असामान्य हुँदै गएपछि २०५८ साल असार १२ गते अस्पतालबाट डिस्चार्ज भई आफ्नै निवास ल्याईएको स्याङतानको असार १३ गते बिहान निधन भएकोे हो । उहाँका दुई छोरा, दुई छोरी र श्रीमान हुनुहुन्छ ।
नेकपा एमालेबाट उम्मेदवारी दिनु भई राक्सिराङ गाउँपालिका वडा नम्बर–३ को वडा सदस्यमा निर्वाचित हुनुभएकी स्याङ्तान जिल्ला समन्वय समिति सदस्य निर्वाचित हुनुभएको हो ।
प्रौढकक्षा पढेर अक्षर चिन्नुभएकी स्याङ्तान गाउँमा जुवातास र जाँडरक्सी, कुलत नियन्त्रण अभियानमा लागेर साविक सरिखेत गाविसको महिलाको नेतृत्व गर्दै महिला मुक्ति बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष, रेडक्रस उपशाखा सरिखेतको सदस्य, महिला स्वास्थ्य स्वयसेवीका एवम् सुडेनीका रुपमा बिकट क्षेत्रको उनन्ति र विकासमा तल्निन हुनुहुन्थ्यो । महिला हिंसा, लैंगिकतामा आधारित हिंसाको बिरुद्ध डटेर लड्नु भएकी स्याङ्तानले राक्सिराङ गाउँपालिकाका सयौँ महिलाको जीवन सहज बनाउन भूमिका निर्बाह गर्नु भएको थियो ।