बकैया गाउँपालिकाको आव २०७८/७९ बजेट ६२ करोड ८३ लाख
मकवानपुरको बकैया गाउँपालिकाले आथिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको बिहिबार सम्पन्न सातौ गाउँसभामा उपाध्यक्ष सरला बोलखेले ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसाको बजेट सार्वजनिक गर्नु भएको हो ।
नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँड, बागमती प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँड, आन्तरिक आय र चालु आवको मौज्दात समेत जम्मा रकम रु ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा मध्ये संचालन खर्च तर्फ रु ७ करोड, र विकास बजेट तर्फ रु २६ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा विनियोजन गरिएको उपाध्यक्ष बोलखेले जानकारी दिनुभयो ।
यस्तै गाउँपालिकाको लागि नेपाल सरकारबाट शशर्त अनुदान तर्फ रु २७ करोड ३८ लाख तथा बागमती प्रदेश सरकारबाट शशर्त अनुदान तर्फ रु १ करोड ६७ लाख ७९ हजार रकम गरी जम्मा रु २९ करोड ५ लाख ७९ हजार रकम प्राप्त भएको छ । यसैगरि बागमती प्रदेश सरकारबाट बाट समपुरक अनुदान रु. २ करोड ९७ लाख ६४ हजार रकमलाई प्रदेश सरकारसँगको सहकार्यमा योजनाहरु सञ्चालन गरिने उपाध्यक्ष बोलखेले बताउनुभयो ।
गाउँपालिकाको नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बोलखेले बकैया २ कालापानी धियालमा रहेको युरेनियमलाई केन्द्र र प्रदेश सरकारसंगको समन्वयमा परीक्षणको कार्यलाई अगाडि बढाइने बताउनभयो । उहाँले खरको छानामुक्त गाँउपालिका निर्माणको लागि विपन्न वर्ग, द्वन्द्व पिडित, सहिद परिवार, सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखेर जस्ताको छाना छाउने कार्यका लागि अनुदानको व्यवस्थालाई निरन्तरता दिइने जानकारी दिनुभयो ।