बागमती प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक
बागमती प्रदेश सरकारले आज प्रदेशसभामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रदेश सरकारले हरेक वर्ष जस्तै यो वर्ष पनि छोटा सुरूङ मार्गहरूको सम्भाव्यता अध्ययन सुरू गर्नुका साथै सङ्घी य सरकारको सहलगानीमा प्रदेश गौरवको रूपान्तरणकारी आयोजनाका रूपमा रहेको पोष्टबहादुर बोगटी (भिमफेदी–कुलेखानी) सुरूङमार्ग को निर्माण कार्य सुरू गरिने जनाएको छ ।
चालु आर्थिक वर्षमा पुनर्निर्माण सुरू गरिएको ऐतिहासिक महत्त्वको चुरियामाई सुरूङलाई पुनर्निर्माण सम्पन्न गरी अध्ययन केन्द्रको रूपमा विकास गरिने जनाएको छ ।
प्रदेश प्रमुख बिष्णु प्रसाद प्रसाईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश राजधानीलाई सङ्घीकय राजधानीसँग जोड्ने मदन भण्डारी मार्गअन्तर्गत भैँसे–भिमफेदी सडक खण्ड र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकालीको निर्माणाधीन सडक खण्ड प्राथमिकताका साथ निर्माण गरिने जनाएको छ ।
कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारको सुनिश्चितता गरी प्रदेशका बासिन्दाहरूको जीवन रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख छ ।
कोभिड १९ लगायत महामारीजन्य रोगहरूको रोकथाम, उपचार र नियन्त्रणका कार्यहरूलाई थप प्रभावकारी बनाउन प्रदेशअन्तर्गत रहेका सबै अस्पताल लगायत स्वास्थ्य संस्थाको सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्था गरी प्रणालीगत सुधार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकार अन्तर्गतका प्रयोगशाला र अस्पतालहरूमा पिसिआर ल्याब स्थापना गरी कोभिड १९ को निशुल्क परीक्षणको व्यवस्था मिलाइने प्रदेश सरकारको तयारी छ । कोभिड १९ को उपचारमा जनशक्तिको अभाव हुन नदिन आवश्यक चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई सेवा करारमा लिने व्यवस्था मिलाइने भएको छ । स्वास्थ्यकर्मीहरूको सीप र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने छ ।