हेटौंडाका ३ वटा जेसीजद्वारा हेटौंडा अस्पतालमा दैनिक निशुल्क बेलुकीको खाना सहयोग

छहारी संवाददाता
जेष्ठ २४, २०७८

युवाको नेतृत्व र व्यक्तित्व विकासको उद्देश्यका साथ सामाजिक कामसमेत गरिरहेका हेटौंडाका ३ वटा जेसीजले हेटौंडा अस्पतालमा निशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिरहेका छन् ।

जेठ २१ गतेदेखि जेसीजले हरेक दिन बेलुकीको खाना सहयोग गर्दै आएको हो । हेटौंडा जेसीज, हेटौंडा लेडी जेसीज र बस्तीपुर जेसीजको संयुक्त आयोजनामा अस्पतालमा रहेका बिरामी, बिरामीका कुरुवा र स्वास्थ्यकर्मीलाई निशुल्क खाना खुवाउँदै आएको प्रदेश सञ्चार डटकमले लेखेको छ ।

दैनिक १ सय जनालाई बेलुकाको खाना प्याक गरेर पु¥याउने व्यवस्था गरिएको हेटौंडा जेसीजका अध्यक्ष लिसेन बस्नेतले जानकारी दिनुभयो । आइतबारसाँझसम्म ३ सय भन्दा बढीलाई खाना खुवाइएको उहाँले बताउनुभयो । खाना खुवाउन दैनिक १० हजार खर्च भइरहेको बताउँदै बस्तीपुर जेसीज हाँडीखोलाका अध्यक्ष राजेश भेटवालले मकवानपुरमा निषेधाज्ञा जारी रहुन्जेल यो अभियान सञ्चालन गर्ने बताउनुभयो ।

दैनिक खाना खुवाएको खर्च तीन वटै जेसीज मिलेर बेहोर्ने भेटवालले बताउनुभयो । कोरोना महामारीको बेला मानवीय सेवाको लागि आफूहरुले निशुल्क खाना खुवाउने अभियान सुरु गरिएको उहाँको भनाइ छ ।

तीन दिनसम्म दैनिक फरक फरक परिकार खानाको रुपमा खुवाइएको छ । तीन दिनको अवधिमा चिकेन बिरयानी, अण्डा बिरयानी र भेज बिरयानी पकाएर बितरण गरिएको हेटौंडा लेडी जेसीजकी अध्यक्ष प्रतिमा श्रेष्ठले बताउनुभयो । जेसीजको मानवीय सेवाको अभियानमा धेरैले साथ र सहयोग दिइरहेको पनि उहाँले बताउनुभयो ।

हेटौंडा अस्पतालका बिरामी र कुरुवाका लागि रोटरी क्लब अफ मकवानपुरले पनि बिहानको खाजा र खानाको व्यवस्था गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*