राक्सिराङ र कैलाशमा कोरोना प्रभावितलाई खाद्यसामग्री सहयोग
मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा कोरोनाबाट प्रभावित समुदायलाई खाद्यसामग्री सहयोग गरिएको छ । ग्लोबल नेप्लिज सोसाईटीको आर्थिक सहयोगमा खाद्यसामग्री सहयोग गरिएको हो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशसभा सदस्य मनोजकुमार सुर्खेती र सामाजिक युवा अभियान्ता हरिबहादुर लोप्चनको विशेष पहलमा सोसाईटीले उपलब्ध गराएको सहयोग हस्तान्तरण गरिएको हो । कोरोना कहर र लकडाउनका बिचमा पिल्सिएर दैनिक ज्यालादारी गरेर छाक टार्न समेत समस्यामा परेपछि अभियान्ताहरुको पहलमा सहयोग प्रदान गरिएको हो ।
राक्सिराङ गाउँपालिकामा ५० घरधुरीहरुमा प्रत्येक घरधुरीलाई २० किलो चामल, नुन, तेल, दाल र बेसार सहयोग गरिएको अभियान्ता लोप्चनले बताए । कार्यक्रममा राक्सिङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, सोसाईटीका व्यवस्थापक राजु थापा, कानुनी सल्लाहकार अधिवक्ता सिताराम अधिकारी, मकवानपुरे पत्रकार जयराम मोक्तान, नेपाल प्रहरीका गाउँपालिका ईञ्चार्ज असई दिपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
सोही दिन कैलाश गाउँपालिकामा पनि ५० घरधुरीलाई २० किलो चामल, नुन, तेल, दाल र बेसार सहयोग गरिएको थियो । वडा नम्बर ८ मा गरिएको सहयोग कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष सुर्जबहादुर थिङ, वडा सदस्य जितबहादुर मोक्तान, अनिता बल तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
ग्लोबल नेप्लिज सोसाईटी विदेशमा कामको सिलसिलामा गएका नेपालीहरुले निर्माण गरेको सहयोगी संस्था हो । संस्थाका सदस्यहरुले स्वईच्छिक अनुदानबाट संचालित कोषबाट सहयोग प्रदान गरिएको हो ।