बुर्किना फासोको गाउँमा बिद्रोही आक्रमण, कम्तीमा १३२ जनाको मृत्यु
सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको ज्यान गएको छ ।
बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो ।
सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनी समेत भएको छ ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन्, तर पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन् । विशेष गरि सीमा क्षेत्रहरुमा यस्ता आक्रमण बारम्बार हुँदै आएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाले आफूलाई आक्रोशित बनाएको बताएका छन् । उनले घटनाको गम्भीर निन्दा गरेका छन् ।
बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेका छन् । दानबी शक्ति विरुद्ध सबै एक हुनु पर्ने पनि उनले उल्लेख गरेका छन् ।
शुक्रबार राति भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको छ ।
गएको महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो ।
बुर्किना फासोमा अहिले गम्भीर सुरक्षा चुनौतिको अवस्था छ । गएको मे मा आर्मीले विद्रोही विरुद्ध बिस्तारित तहको प्रतिकारात्मक कारवाही सुरु गरे पनि हिंसा रोक्न भने सकेका छैनन् । देशसञ्चार अनलाइनबाट ।