हर्नामाडीको गुम्बाडांडामा २५ फिटको बुद्ध मूर्ति प्रतिस्थापन
पर्यटकिय क्षेत्र हर्नामाडीको गुम्बाडांडामा शुक्रबार बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका १८ स्थित गुम्बाडांडामा २५ फिटको अग्लो ढुंगाबाट निर्मित बुद्ध मूर्ति प्रतिस्थापन गरिएको हो । बुद्ध मूर्तिको औपचारिक उद्धघाटन भने असार महिनाभित्र गरिने जनाईएको छ । यसअघि बुद्ध जयन्तीका अवसरमा उद्धघाटन गरिने तयारी गरिएपनि दोस्रो लहरको कोरोना महामारीका कारण ढिलाई भएको हो ।
वडाध्यक्ष अनिल कुमार बानियाँले बुद्धमूर्ति निमार्णका लागि यसवर्षमात्रै १ करोडभन्दामाथि खर्च लागेको बताउनुभयो । बुद्धको मूर्तिका कारण अवका दिनमा गुम्बाडांडाको नाम र काम बास्तबिक रुपमा स्थापित हुने उहाँको भनाई रहेको छ ।
२०७४ सालको बुद्ध पूर्णिमाका दिन शिलन्यास भएको बुद्ध मूर्ति र उक्त स्थानमा पार्क लगायत संरचना निमार्णका लागि करिब ३ करोड खर्च अनुमान गरिएको मूर्ति निमार्ण समिती संयोजक कमलचन्द्र सुमनले जानकारी दिनुभयो ।
ललितपुरको बालकुमारीमा बुद्धको शिर निमार्ण गरेर बाँकी भाग गुम्बाडांडामै निमार्ण गरिएको हो । २६ जना कालिगढले तीन महिनाअघिदेखि निमार्ण थालेका हुन् । मूर्ति निमार्ण गर्न कलाकार अमर शाक्यसंग ४५ लाख सम्झौता गरिएको थियो ।