शिवशक्तिले सहयोग गरेको खाद्यान्न हेटौंडा उपमहानगरद्वारा गरिब परिवारलाई वितरण
शिवशक्ति ग्रुप जीतपुरले हेटौंडा उपमहानगरपालिकालाई खाद्यान्न उपलब्ध गराएको छ । विपन्न परिवारलार्इ राहत वितरण गर्न उपभोक्ता हित संरक्षण मञ्चको पहलमा शिवशक्ति ग्रुपले प्रति बोरा २५ केजी तौलको १ सय बोरा चामल, १ सय लिटर खाने तेल र १ सय केजी मसुरो दाल उपलब्ध गराएको हो ।
सहयोग प्राप्त भएको करीब १ लाख ७५ हजार रुपैया बराबरको खाद्य सामग्री उपमहानगरपालिकाकी उपमेयर मीना लामाले निषेधाज्ञाको कारण रोजगारबाट बञ्चित परिवारलाई हस्तान्तरण समेत गर्नु भएको छ । बिहिबार हेटौंडा २ मनकामना चोकमा बस्ने १० जना ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण गरिएको छ भने बाँकीलाई भोली वितरण गरिनेछ ।
खाद्यान्न सामग्री हस्तारण कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका बागमती प्रदेश अध्यक्ष बासुदेव खतिवडा, शिवशक्ति ग्रुपका बजार व्यवस्थापक भारतभुषण सिंह, मनिकान्त गुप्ता, व्यवसायी पवन अग्रवाल, सो ग्रुपको मकवानपुरका अधिकृत विक्रेता उत्सव सप्लायर्स र बैष्णो खाद्य भण्डारका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । जिल्लामा निषेधाज्ञापछि दैनिक ज्यालादारी गरी गुजारा गर्नेहरु समस्यामा परेका छन् ।