मकवानपुरमा निजी क्षेत्रद्वारा पल्पसा आइसोलेशन सेन्टर संचालन

छहारी संवाददाता
जेष्ठ १९, २०७८

निजी क्षेत्रले संचालन गरेको कोभिड हेल्प डेस्क मकवानपुरले बुधबारदेखि ३० बेडको पल्पसा आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ । आइसोलेशनको नेपाली कांग्रेस संसदीय दल बागमती प्रदेशका नेता इन्द्र बहादुर बानियाँले उद्घाटन गर्नु भएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा संक्रमितलाई चिकित्सकको परामर्श, अक्सिजनदेखी आवश्यक सबै सहयोग जुटाउदै आएको हेल्प डेस्कले संक्रमितलाई उपचारको लागि आइसोलेशनको समेत व्यवस्था गरेको हो ।

हेटौंडा अस्पतालमा क्षमता भन्दा बढी बिरामी भएर निजि अस्पतालमा उपचार गर्न बाध्य भएका निम्न स्तरका बिरामीलाई सेवा दिने उदेश्यले आइसोलेशन संचालनमा ल्याइएको मउबासंघका अध्यक्ष एबम् कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले जानकारी दिनुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट स्विकृति प्राप्त भएपछि नै आफुहरुले आइसोलेशन सञ्चालनमा ल्याइएको प्रष्ट पार्नुभयो । उहाँका अनुसार आइसोलेशनमा अक्सिजन सहित पूरुषको लागि २० र महिलाको लागि १० वटा बेडको व्यवस्था गरिएको छ । आइसोलेशनमा स्वास्थ्यकर्मीहरुले निरन्तर सेवा दिनेछन् भने बिरामीका लािग टेलिभिजन र इन्टरनेटको समते व्यवस्था गरिएको छ ।

कोभिड हेल्प डेस्क मकवानपुरले यसअिघ पनि जिल्लाभरीका संक्रमितलाई एम्बुलेन्स सेवा दिइरहेको छ भने गाउँपालिकाहरुमा समेत अक्सिजन लगाएत स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइरहेको छ ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सोमेन्द्र सिंह राठौर लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*