निजिक्षेत्रले निशुल्क उपचारसहितको आइसोलेसन सेवा दिने
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गर्न थालेको ३० शैयाको पल्पसा आइसोलेशन सेन्टरको तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्लाका कोरोना संक्रमितलाई चिकित्सकको परामर्श, अक्सिजनदेखी आबश्यक सबै किसिमको सहयोग जुटाउदै आएको कोभिड हेल्प डेस्कले अब संक्रमितलाई उपचारको लागि आइसोलेसनको समेत ब्यबस्था गरेको हो । अस्पतालको क्षमता भन्दा बढी बिरामी भएर निजि अस्पतालमा उपचार गर्न बाध्य भएका निम्न स्तरका बिरामीलाई उपचार सेवा दिने उदेश्यले उक्त आइसोलेसनको ब्यबस्था गरिएको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष एबम् कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवाले बताउनुभयो ।
उहाँले भन्नुभयो- “कोभिड संक्रमितलाई भेट्ने क्रममा उपचार र आइसोलेटमा समस्या देखियो, निजि अस्पतालमा उपचार महंगो हुने समेत गुनासो आएकोले हामिले यसलाई मध्यनजर गरेर आइसोलेसनको ब्यबस्था मिलाएका हौं ।” उहाँले थप्नुभयो“ हामी संक्रमितको लागि सबै सेवा दिन सक्षम र तयार छौं ।”
कोभिड हेल्पडेस्कका सचिवालय सदस्य सरोज खनालले जिल्ला अस्पतालमा उपलब्ध शैया कम भएको कारणले कसैको ज्यान नजाओस् भन्ने उदेश्यले आइसोलेशन संचालन गर्न लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो-“घरदैलोको क्रममा हामिले संक्रमितहरुको अबस्था भयाबह नै देख्यौं, एउटै कोठामा ४/५ जनाको परिवार छ, स्वास्थ्य सामग्री छैन, मापदण्ड अनुसार बस्ने ठाँऊ छैन र गम्भिर अबस्थामा अस्पताल जाने खर्च छैन यस्तो अबस्थामा हामिले आइसोलेसन संचालनको अरु बिकल्प देखेनौं ।”
हेटौंडामा मात्र नभएर जिल्लाभरीका संक्रमितलाई सेवा दिन रातदिन खटिरहेको उहाँको भनाई छ । गाँऊ पालिकाहरुमा समेत अक्सिजन लगाएत स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो । हेल्प डेस्कका स्वास्थ्यकर्मीबाट फोन सम्पर्क गरी संक्रमितको अवस्थाको रिपोर्ट संकलन गर्दै आएको छ ।