कांग्रेसको क्रियाशील सदस्यताको विवरण बुझाउने म्याद पुनः थप

छहारी संवाददाता
जेष्ठ १७, २०७८

नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने समय पुनः थप गरेको छ ।

देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भइरहेका दुई सय सात स्थानमध्ये क्रियाशीलको विवरण इन्ट्री गर्न बाँकी रहेका एक सय ६ स्थानका लागि पुनः म्याद थपिएको हो । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जेठ २५ गते राति १२ बजेसम्म क्रियाशीलको विवरण अपडेट गरिसक्न र कुनै त्रुटि भएको भए सच्याउन निर्देशन गरेको समितिका सचिव केशव रिजालले जानकारी दिए ।

पटक–पटक सूचित गर्दा पनि क्रियाशीलको विवरण प्राप्त नभएको भन्दै काँग्रेसले १५ वैशाखको रातिदेखि क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्ने सफ्टवेयर बन्द गरेको थियो । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सो अवधिमा पूरा विवरण इन्ट्री गरिसकेका एक सय एक स्थानको नामावली वेबसाइटमा सार्वजनिक गरिसकेको छ ।

जसमध्ये ४५ जिल्लाका ८० स्थानको विवरण ३० वैशाखमा र १६ जिल्लाका २१ स्थानको विवरण शनिबार सार्वजनिक गरिएको छ । अहिलेसम्म करिब आठ लाख सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री भएको छ । नामावली सार्वजनिक भइसकेका ठाउँबाट कसैको नाममा दाबी–विरोध वा उजुरी भए सम्पर्क गर्नसमेत समितिले आग्रह गरेको छ ।

कांग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्मका लागि १४ औँ महाधिवेशनको मिति तोकेको छ । तर, महाधिवेशनका लागि तल्लो तहका मतदाताका रूपमा रहेका क्रियाशील सदस्यताको अझै टुंगो लागेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*