सबै मिलेर कोरोना परास्त गरौंः मेयर बिष्ट
थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले कोरोना परास्त गर्न सबै पक्ष मिलेर अगाडि बड्नुपर्ने बताउनुभएको छ ।
आइतबार थाहा नगरपालिकामा बिभिन्न संघसंस्थाहरुले हस्तान्तरण गरेका स्वास्थ्य सामग्रीहरु बुझ्ने क्रममा प्रमुख बिष्टले कोरोना भाइरसबाट आक्रान्त नागरिकको दुखमा मलम लगाउन स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा उक्त संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।
थाहा नगरपालिका को लागि मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ प्रा।लि। र सार्वजनिक यातायात प्रा।लि।को तर्फबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । यी संस्थाहरुको तर्फबाट नगरपालिकालाई ७ लिटरको अक्सिजन कन्सर्ट्रेटर १ थान, सेनिटाइजर १० लिटर र १ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको थियो ।
थाहा नगरपालिका प्राङ्गणमा भएको हस्तान्तरण कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, नारायणी यातायात व्यवसायी संघ प्रा।लि।का सचिव सरोज खनाल, सार्वजनिक यातायात प्रा।लि।का अध्यक्ष ज्ञानेन्द्र कार्की, थाहा नगर उपप्रमुख खड्ग गोपाली, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष अरुण रायमाझीलगायतको उपस्थिति थियो ।
कोरोनाविरुद्दको अभियानमा नगरपालिकालाई प्राप्त सहयोग एकद्वार प्रणालीबाट आवश्यक स्थानहरुमा वितरण गरिदै आएको नगरपालिकाका प्रमुख बिष्टले बताउनुभयो