विपद्को मिलेर सामना गर्न मकवानपुरे पत्रकारको ऐक्यबद्धता

छहारी संवाददाता
जेष्ठ १६, २०७८

जिल्लाका सबै पत्रकार मिलेर विपद्को सामना गर्न मकवानपुरे पत्रकारले ऐक्यबद्धता जनाएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण दिनानुदिन जोखिम बढ्दै गइरहेको बेला सामुहिक रुपमा यस्तो कठिन परिस्थितिको सामना गर्नेमा जिल्लाका पत्रकारहरुले ऐक्यबद्धता जनाएका हुन् । भर्चुअल माध्यम जुमबाट सञ्चालित ‘कोरोना कहरमा पत्रकारको अवस्था र महासंघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथिहरुले सबै मिलेर विपदको सामना गर्न सकिने बताएका हुन्।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले वर्तमान अवस्थामा पत्रकारको सूरक्षा नै मुख्य विषय भएको बताए । पत्रकारले आफू सुरक्षित भएर काममा लाग्नुपर्नेमा जोड दिँदै उनले पत्रकारका सेवा सुविधाका सवालमा महासंघले निरन्तर आवाज उठाउने बताए । पत्रकारको हीतमा बनेका नीति नियम र ल्याइएका योजनाहरु कार्यान्वयनका लागि पहल गरिने भन्दै अध्यक्ष पोखरेलले महासंघ सँधै श्रमजीवि पत्रकारको साथमा रहेको दावी गरे ।

कार्यक्रममा मन्तव्य दिँदै महासंघका केन्द्रीय सदस्य सुनिल खड्काले श्रमजीवि पत्रकारका सुझावलाई लिएर महासंघ अघि बढ्ने बताए । यस्तै, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले पत्रकारहरुको सुरक्षा र सुविधाका लागि महासंघ प्रदेशबाट गरिने प्रयासबारे बताए । पत्रकारहरुका लागि प्रदेशले गर्दै आएका कामबारे जानकारी दिँदै उनले प्रदेश महासंघको आगामी योजनाबारे पनि बताए ।

महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईं, अग्रज पत्रकार रामकुमार एलन, महासंघ मकवानपुरका सल्लाहकार बालकृष्ण अधिकारी लगायतले आगामी दिनमा पत्रकारका लागि गर्न सकिने महत्वपूर्ण कामहरुबारे महासंघलाई सुझाव दिए । साथै, वक्ताहरुले यो विपद्को सामना गर्न आफूहरु सँधै महासंघको साथमा रहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस संगठन मकवानपुरका संयोजक अञ्जली थापा, प्रेस सोसाइटीका केन्द्रीय उपाध्यक्ष मनोज ढोडरी, मिडिया नेपाल मकवानपुरका अध्यक्ष जिबराज बख्रेल लगायतले मन्तव्य व्यक्त गर्दै पत्रकारको सुरक्षा र सुविधाको सवालमा मिलेर काम गर्ने बताए ।

वर्तमान परिस्थितिमा रेडियोहरुले भोग्नुपरेको आर्थिक संकट र संक्रमणको जोखिमबारे महासंघका निवर्तमान सचिव तथा रेडियो मकवानपुरका स्टेशन म्यानेजर गणेश दर्पण अधिकारीले जानकारी दिए । यस्तै, अनलाईन, पत्रिका तथा जिल्लाका मिडिया हाउसहरु र सो मा कार्यरत पत्रकारहरुले भोग्दै आएको समस्या र महासंघले खेल्न सक्ने भूमिकाबारे पत्रकारहरु अशोक सुजन श्रेष्ठ, सुशन लामिछाने, राकेश तिमल्सिना, अर्जुन सञ्जेल लगायत जिल्लाका पत्रकारहरुले टिप्पणी र सुझाव व्यक्त गरेका थिए ।

नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिरहेकोले फ्रन्टलाइनमा बसेर काम गर्ने सञ्चारकर्मीहरु पनि संक्रमित भइरहेको सन्दर्भमा जिल्लाका पत्रकारहरुले भोग्नुपरेको समस्या तथा महासंघले खेल्न सक्ने भूमिकाबारे सुझाव संकलनका लागि नेपाल पत्रकार महासंघ मकवानपुरले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा सञ्चालित अन्तरक्रिया कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सुनिल खड्का र प्रदेश अध्यक्ष शिव देवकोटाको विशेष उपस्थिति रहेको थियो ।

महासंघका प्रदेश उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारु मगर, पूर्व अध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, प्रदेश सदस्य सुदिप शिवाकोटी, सञ्चारिक समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाल लगायत महासंघका केन्द्रीय नेतृत्व, प्रदेश नेतृत्व, जिल्लाका पूर्व अध्यक्षहरु, पत्रकारका विभिन्न संगठनका अध्यक्षहरु लगायत करिब ५० जना सहभागी अन्तरक्रियामा जिल्लाका पत्रकारहरुले दिएको सुझावको आधारमा समस्या समाधानमा अघि बढ्ने महासंघले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्दै महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारीले रिपोर्टिङका लागि तत्काल आवश्यक पर्ने मास्क, सेनिटाइजर जस्ता सामग्री आवश्यक परे महासंघ कार्यालयबाट लिन सकिने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*