हेटौंडा अस्पतालमा देखिएका प्राविधिक तथा प्रशासनिक कमजोरीबारे ध्यानाकर्षण

छहारी संवाददाता
जेष्ठ १५, २०७८

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा देखिएका प्राविधिक तथा प्रशासनिक कमजोरीबारे ध्यानाकर्षण गराएको छ ।

कांग्रेस कोभिड अनुगमन समितिका संयोजक उत्सव इटेनीको नेतृत्वमा पुगेको टोलीले प्रतिष्ठानका निर्देशक राजेश प्रसाई र कोभिड इन्चार्ज डा सागर काफ्लेलाई भेटी अस्पतालको समस्याबारे जानकारी गराउँदै तत्काल समाधान गर्न ध्यानाकर्षण गराएको हो ।

संयोजक इटेनीले अस्पतालमा महङ्गो औषधिहरु उपलब्ध नभएकाले बाहिरबाट किन्नुपर्ने बाध्यता रहेको भन्दै तत्काल पर्याप्त औषधिको व्यवस्था गर्न आग्रह गर्नुभयो । यस्तै अस्पतालको ल्याबमा केमिकल सकिएको लामो समयसम्म केमिकल नल्याइएको र निजी ल्याबमा बिरामीले महङ्गो शुल्क तिर्नु परेको प्रति ध्यानाकर्षण गराउनुभयो ।

भेटका क्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीले संक्रमितको उपचारमा केही स्वास्थ्यकर्मीले पर्याप्त ध्यान नदिएको, स्वास्थ्यकर्मी अपुग भएको जस्ता गुनासाहरु बिरामीको आफन्तबाट आउने गरेको भन्दै त्यस्तो समस्या समाधानमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

कांग्रेस कोभिड अनुगमन समितिका सदस्य एवम् नेपाल तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीले महामारीको मिलेर सामना गर्नको लागि आफूहरु पनि साथसाथै रहेको भन्दै अस्पताललाई कुनै समस्या पर्दा आफूहरुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिष्ठानका निर्देशक प्रसाईले धेरैथरीका रोगहरु भएका कोरोना संक्रमित अस्पतालमा भर्ना भइरहेकाले सबै औषधि अस्पतालमा उपलब्ध हुन नसकेको स्वीकार गर्नुभयो । जतिसक्दो बढी औषधि आफूहरुले अस्पतालबाटै उपलब्ध गराइरहेको भन्दै केही औषधि अस्पतालमा नहुँदा बाहरिबाट ल्याउनुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।

कोरोना संक्रमितको दैनिक ४ प्रकारको परीक्षण गरिनुपर्ने भन्दै प्रसाईले त्यसमध्ये एउटा परीक्षण सुरु भइसकेको र अन्य परीक्षण पनि केहीदिनमै सुरु हुने जानकारी दिनुभयो । बिरामीको चापअनुसार पर्याप्त स्वास्थ्यकर्मी उपलब्ध नभएको पनि उहाँले बताउनुभयो ।

हाल हेटौंडा अस्पतालमा ५३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १४ जना आइसियुमा छन् । भेटमा कांग्रेस कोभिड–१९ अनुगमन समितिका सदस्य एवम् हेटौंडा–१६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइराला, अस्पतालका कोभिड इन्चार्ज डा। सागर काफ्लेलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*