मकवानपुरमा अहिलेसम्म ८४ जना कोरोना संक्रमितको मृत्यु
मकवानपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
संक्रमणका कारण आज बिहान मनहरी गाउँपालिकाकी एक महिलाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४ पुगेको हो । मृत्यु हुनेहरुमा सबैभन्दा बढी ६५ जना हेटौडा उपमहानगरपालिकाका छन् ।
यस्तै थाहा नगरपालिकाका ६ जना, मनहरी गाउँपालिकाका ५ जना, भिमफेदी र बकैया गाउँपालिकाका ३/३ जना, र मकवानपुरगढी र बागमती गाउँपालिकाका १/१ जना संक्रमितको मृत्यु भएको कार्यालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परिक्षणबाट ९९ जना र एन्टीजेन्ट परिक्षणबाट ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आज संक्रमित हुनेहरु सबै भन्दा धेरै ७८ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।
योसंगै मकवानपुरमा हालसम्मको संक्रमित संख्या ८ हजार २ सय १३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । २६ हजार ३११ जनाको स्वाब पक्षिण गर्दा ८ हजार २ सय १३ जनामा संक्रमण देखिएको हो । यी मध्ये ५ हजार ६८१ जना निको भइसकेको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।