विपन्न परिवारलाइ सामुदायिक रेस्पोन्स कार्यदलको खाद्यान्न सहयोग
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हेटौडा ६ र १७ को संयुक्त पहलमा गठन भएको कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदलले विपन्न परिवारलाइ खाद्यान्न सहयोग गरेको छ ।
कार्यदलले हेटौडा ६ को रामनगर र हात्तिलेट क्षेत्रका १७ घरधुरीलाइ आवश्यक खाद्यान्न सहयोग गरेको हो । दैनिक ज्यालादारीमा काम गर्ने, बिहान बेलुकाको छाक टार्न मजदुरी नगरी नहुने परिवार छनोट गरेर राहतस्वरुप खाद्यान्न सहयोग गरिएको कार्यदलका सहसंयोजक भरत सापकोटाले जानकारी दिए ।
हामीले बास्तविकता पहिचान गरेर राहत वितरण गरेका हौ, सापकोटाले भने, परिवार सख्या र आवश्यकताको आधारमा खाद्यान्न सहयोग गरेका छौ ।” कार्यदलले १७ परिवारलाई १५ किलो चामल, ५ केजी आटा, एक केजी दाल, एक प्याकेट तेल, नुन सहित माक्स, सेनिटाइजर र मल्टिभिटामिन सहयोग गरेको छ ।
कोरोनाको अवधिभर खाद्यान्न अभाव भएका घरपरिवारलाइ खाद्यान्नको व्यवस्थापन गरिने कार्यदलका संयोजक एवम् ६ नम्वर वडा अध्यक्ष अर्जुन चौलागाइले जानकारी दिए । खाद्यान्न सहयोग कार्यक्रममा आर्थिक एवम् राहत उपसमितिका संयोजक नवराज न्यौपाने, सदस्यहरु पवन दुलाल, स्वास्थ्य उपसमितिका सहसंयोजक कल्पना पराजुली लगायत कार्यदलका सदस्यहरु भीमसेन पौडेल, आशिष चौलागाई, सुपेन्द्र खनाल, लक्ष्मण पौडेलको उपस्थिति रहेको थियो ।
खाद्यान्न सहयोगका लागि मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्याशी महेन्द्र राउत र उद्योग तर्फको उपाध्यक्ष पदका उमेद्वार रविन्द्र घिमिरेले सहयोग गरेका हुन् । उपाध्यक्षका उमेद्वार घिमिरेले कार्यदलका लागि १५ थान अक्सिजन सिलिण्डर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
घिमिरेको प्रतिबद्धता अनुसार ३ वटा अक्सिजन सिलिण्डर ल्याईसकिएको र १२ वटा ल्याउन बाँकी रहेको कार्यदलका सहसंयोजक सापकोटाले जानकारी दिए । कार्यदलका लागि दैनिक देश तथा विदेशबाट र वडाका स्थानीयहरुबाट आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको आर्थिक एवम् राहत उपसमितिका संयोजक नवराज न्यौपानेले जानकारी दिए ।