मध्यरातमा प्रतिनिधिसभाको हत्या गरेको भन्दै कांग्रेस मकवानपुरद्धारा राष्ट्रपति र प्रधानमन्त्रीको निन्दा
नेपाली कांग्रेस मकवानपुरले यहि जेठ ७ गतेको संविधान विपरितका विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले आज एक प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपति र प्रधानमन्त्रीले षड्यन्त्रपूर्वक मध्यरातमा प्रतिनिधिसभाको हत्या गरेको भन्दै निन्दा गर्नु भएको छ । उहाँले केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएदेखि नै निरन्तर गैरसंवैधानिक र अलोकतान्त्रिक गतिविधि हुँदै आएको भन्दै लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाका लागि सबै दल एकजुट हुन आह्वान गर्नु भएको छ ।
विज्ञप्तिमा भनिएको छ-‘संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्न नेपाली कांग्रेस मकवानपुर सबै लोकतन्त्रवादी शक्तिलाई हार्दिक आव्हान गर्दछ । ‘
राष्ट्रपति र प्रधानमन्त्रीबाट लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको बेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको विज्ञप्तिमा उल्लेख छ । कांग्रेस मकवानपुरले राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गराईरहेको भन्दै आपत्ति जनाएको छ ।