हेटौंडाबाट अक्सिमिटर कालोबजारी गर्ने २ जना पक्राऊ
जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त बजार अनुगमन टोलीले अक्सिमिटरमा कालो बजारी गर्ने २ जनालाई पक्राऊ गरेको छ ।
हेटौंडा राप्ति रोडको सन्वी मेडिकोले सामान्यतयाः अन्य समयमा ८ सय रुपैयाँँ पर्ने अक्सिमिटर सो फार्मेसीले २ हजार ८ सयमा बिक्री गर्दै आएको प्रशासनले फेला पारेको थियो । अक्सिमिटर शरीरमा भएको अक्सिजनको मात्रा थाहा पाउन औलामा राखेर प्रयोग गर्ने गरिन्छ ।
अनुगमन टोलीलाई खरीद बिल समेत देखाउन नसकेपछि अक्सिमिटर बिक्री गर्ने निशा आचार्य र मनिता मल्ललाई पक्राऊ गरी जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । मनिष राम श्रेष्ठको नाममा दर्ता रहेको सो फार्मेसीलाई प्रशासनले सिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सो फार्मेसीलाई कालो बजारी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरेको अनुगमन टोलीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले आज विभिन्न औषधि पसलहरुको अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका अजय अधिकारी, बासुदेव खतिवडा, खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण विष्टसहितको प्रतिनिधित्व रहेको थियो । हेटौडा न्युज डटकमबाट ।