राष्ट्रपति र प्रधानमन्त्रीले संविधान माथि ‘कू’ गरेको भन्दै अपदस्थ गर्न तरुण दलको माग

छहारी संवाददाता
जेष्ठ ७, २०७८

नेपाली कांग्रेस निकट नेपाल तरुण दलले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान माथि पटक–पटक ‘कू’ गरेको भन्दै दुबैलाई अपदस्थ गर्न माग गरेको छ ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको भन्दै महाअभियोग प्रस्तावबाट हटाउनुपर्ने बताउनु भएको हो ।

‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत छ । संविधान विरुद्ध राष्ट्रपतिद्वारा फेरी घात भएको र यो संविधान विरुद्धको अपराध हो’ अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

‘राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका यस्ता प्रकारका घर व्यवहार संचालन जस्ता देखिने गतिविधिहरु खेदजनक छ,’ बस्नेतले लेखेका छन्, ‘राष्ट्रपति ज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’

यसैगरी नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर फेरि संविधानको खिल्ली उडाएको जनाएका छन् । उनले पछिल्लो राजनीतिक कदमलाई प्रतिगमनको संज्ञा दिएका छन् । ‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधान माथि जालसाजी र कु गरेका छन् र यो घोर अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी, अनैतिक र प्रतिगामी कदम हो, जुन कदापि क्षम्य हुँदैन,’ महामन्त्री तिमल्सिनाले भनेका छन् ।
अनलाइन खबरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*