कोरोना संक्रमितको उपचारमा तरुणको चासो, अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले कोरोना संक्रमित विरामीको हेरचाह तथा घरबाट अस्पतालसम्म ल्याउनको लागि सहजीकरण गर्नेबारे चासो लिएको छ । तरुण दल मकवानपुरको टोलीले बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका पदाधिकारी तथा सदस्यहरुसँग भेट गरी संक्रमितको सहज उपचारको व्यवस्था गर्न समन्वय र सहकार्य गर्नेबारे छलफल गरेको हो ।
तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकसहित अस्पतालमा पुगेको टोलीले संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको लागि २५ थान पिपिई सेट र एक हजार थान मास्कसमेत सहयोग गरेको छ । तरुण दलका अध्यक्ष पाठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।
सामग्री हस्तान्तरणपछिको छलफलमा तरुण दल अध्यक्ष पाठकले कोरोना संक्रमितको सहज उपचारको लागि समन्वय गर्न तरुण दल तयारी अवस्थामा रहेको बताउनुभयो । तरुण हेल्पलाइन नै सञ्चालन गरी संक्रमितलाई अक्सिजन, एम्बुलेन्स र रगत र अस्पताल तथा आइसोलेसनको व्यवस्थापनमा खटिएको बताउँदै पाठकले त्यसको लागि अस्पतालले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । अन्य सामग्री आवश्यक परेमा सहयोग गर्न तयार रहेको पनि उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका युवा नेता राजेश भेटवालले आवश्यकताअनुसार आफूहरुले संक्रमितको उपचारमा जुनसुकै तवरले सहयोग गर्न तयार रहेको बताउनुभयो । संक्रमितको उपचारमा कसरी बढीभन्दा बढी सहजता अपनाउन सकिन्छ भन्नेबारे योजना बनाउन उहाँले अस्पताललाई आग्रह गर्नुभयो ।
प्रतिष्ठानका रष्टिार प्रसाईले तरुण दलले गरेको स्वास्थ्य सामग्री सहयोगप्रति आभार व्यक्त गर्दै संक्रमित पहिचान भएदेखि नै एकपटक अनिवार्य अस्पतालसम्म ल्याउन समन्वय गर्न आग्रह गर्नुभयो । संक्रमितलाई अप्ठेरो महसुस नभए पनि फोक्सोमा समस्या भइरहेको हुनसक्ने भन्दै धेरैलाई यो सचेत गराउनु आवश्यक रहेको प्रसाईको भनाई छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण तथा छलफल कार्यक्रममा तरुण दल मकवानपुरका उपाध्यक्ष निराजन वर्तौला, सचिव सचित थापा, नेपाली कांग्रेस मकवानपुरका तरुण विभाग सदस्य विकेशलाल श्रेष्ठ, कुमार पोखरेल, तरुण नेता एवम् हेटौंडा–२ नम्बर वडा सदस्य सुदिप राजबाहक, ६ नम्बर वडा सदस्य राजकुमार बास्तोला, तरुण नेताहरु रोज थापा, रुपेश केसी, योग्यराज सापकोटा, नितेश लामा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाई, हिरा वाइबादलगायतको सहभागिता रहेको थियो ।
यसैबीच नेपाल तरुण दल मकवानपुरले सञ्चालन गरेको तरुण हेल्पलाइन सेवा सञ्चालनको लागि कांग्रेस युवा नेता राजेश भेटवालले ३० हजार रुपैयाँ सहयोग गर्नु भएको छ । संक्रमितको उपचारमा समन्वय गर्ने क्रममा हुने खर्चको व्यवस्थापनको लागि भन्दै भेटवालले तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकलाई रकम हस्तान्तरण गर्नु भएको हो । तरुण हैल्पलाइनकै लागि तरुण नेता योग्यराज सापकोटाले पनि १५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।