प्रधानमन्त्रीले लिएको शपथ बदरको माग गर्दै सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने

छहारी संवाददाता
जेष्ठ ४, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष लिएको शपथ बदर गराउन मागसहित सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ । शपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले सत्य निष्ठापूर्वक प्रतिज्ञा र्गछु भन्ने वाक्य उच्चारण गर्न इन्कार गर्नुभएको विषयलाई लिएर सर्वोच्चमा ४ वटा रिट दर्ता भएका छन् ।

प्रधानमन्त्री ओलीले लिएको शपथ असंवैधानिक भएको भन्दै आइतबार अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले रिट निवेदन दिनुभएको थियो । यसैगरी सोमबार अधिवक्ता राजकुमार सुवाल र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गराउनुभएको थियो ।

ती रिटमा प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको भन्दा फरक परेको भन्दै बदर गराउन माग गरिएको छ । साथै प्रधानमन्त्रीले पुनः शपथ ग्रहण गरेर मात्र कामकाज गर्नका लागि अदालतद्वारा आदेश जारी गर्न माग गरिएको छ । उक्त रिटमाथि आज ९मंगलबार० सुनुवाइ हुने भएको हो ।

शुक्रबार प्रधानमन्त्री ओलीले शपथ ग्रहणका क्रममा राष्ट्रपति भण्डारीले भनेका केही वाक्य उच्चारण गर्न इन्कार गर्नुभएको थियो । त्यसक्रममा ओलीले ‘त्यो पर्दैन’ भनेर राष्ट्रपतिलाई जवाफ दिनुभएको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीले संसद सदस्य नै नरहेका ७ जनालाई पुनः मन्त्री बनाइएको भन्दै उक्त नियुक्ति खारेज गर्न पनि सर्वोच्चमा रिट दर्ता भएको छ । उक्त रिट निवेदनको सुनुवाइ पनि आजै हुने बताइएको छ । कानुनविपरीत संसद सदस्य नरहेका व्यक्तिलाइ पटकपटक मन्त्री नियुक्ति गरिएको भन्दै उक्त नियुक्ति खारेजीको माग रिट निवेदकको रहेको छ । साभारः न्युज २४ अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*