जेठ १ देखि १३ गतेसम्म मकवानपुरका १० वटै स्थानीय तहमा निषेधाज्ञा लागू हुने

छहारी संवाददाता
बैशाख ३०, २०७८

कोरोना संक्रमणको जोखिम झनै बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले १० वटै स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

अहिले जिल्लाका चार वटा स्थानीय तहमा मात्र निषेधाज्ञा लागू गरेको प्रशासनले जेठ १ गते देखि १३ गतेसम्म मकवानपुरका १० वटै स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो । कोरोना संक्रमण दर घट्नुको सट्टा बढ्दै गएपछि निषेधाज्ञा थप गरी १० वटै स्थानिय तहमा लागू गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जानकारी दिनुभयो ।

प्रशासनले वैशाख मसान्तसम्म हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रको दायाँ बायाँ ५ सय मिटर क्षेत्रमा मात्रै निषेधाज्ञा लागू गरेको थियो । आज प्रशासनमा बसेको बैठकले भने जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।

प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य वस्तु विहान ८ बजेसम्म मात्रै खुल्ने, नगरभित्रका बैंकहरु साताको दुई दिन मंगलबार र शुक्रबार खुल्ने, वित्तियर सहकारी संस्था भने पूर्णरुपमा बन्द गरिनुपर्ने जस्ता निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*