इजरायल र प्यालेस्टाइनबीच संघर्ष थप तनावपूर्ण
इजरायल र प्यालेस्टाइनबीच संघर्ष थप तनावपूर्ण बन्दै गएको छ । इजरायलले गरेको हवाइ आक्रमणमा आफ्ना केही वरिष्ठ कमाण्डरहरू मारिएको र गाजामा ठूलो भवन ध्वस्त भएपछि हमास विद्रोहीहरूले इजरायलमाथि दर्जनौँ रकेट प्रहार गरेका बीबीसीले जनाएको छ ।
संघर्ष चर्कँदै गएपछि संयुक्त राष्ट्रसंघले पूर्ण युद्धको चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले जारी हिंसाले आफू निकै चिन्तित भएको बताउनुभएको छ । यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनले नेता न्याहुलाई फोन गरेर इजरायलको सुरक्षाप्रति आफ्नो समर्थन रहेको भन्दै दिगो शान्ति पुनर्बहाली हुनपर्नेमा पनि जोड दिनुभएको छ ।
सोमवारदेखि सङ्घर्ष निकै चर्किएपछि राष्ट्रसंघले अब पूर्ण युद्धको अवस्था निम्त्याउन सक्ने चेतावनी दिएको हो । सोमवारयता गाजामा १४ बालबालिकासहित ६५ जनाको ज्यान गइसकेको छ भने इजरायलमा सात जनाको ज्यान गएको छ ।