सञ्चारकर्मीलाई फ्रन्टलाइनर घोषणासंगै स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्न महासंघ बागमती प्रदेशको माग
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले सञ्चारकर्मीहरुलाई अग्रपंक्तिमा खटिने वर्ग (फ्रन्टलाइनर) घोषणा गरि उनीहरुको स्वास्थ्य र सुरक्षाको बिशेष प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।
महासंघ प्रदेश समितिका महासचिव कृष्ण सारु मगरद्धारा जारी विज्ञप्तिमा सबै सञ्चार गृहहरुलाई कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि पूर्व सतर्कताको तयारी गर्न, आवश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह गरिएको छ । साथै महासंघ जिल्ला शाखाहरुलाई बिपदको समयमा जोखिम मोलेर समाचार संकलनमा खटिने सञ्चारकर्मीहरुलाई आवश्यक सतकर्ता अपनाएर समाचार संकलन गर्ने बातावरण निर्माणको लागि समन्वय गर्न आग्रह गरिएको छ ।
प्रदेश सरकार एवं स्थानीय तहसंग समन्वय गरि सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री र राहत एवं उपचारका लागि समन्वय तथा पहल गरिरहेको महासंघ प्रदेश समितिले सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेको छ ।
अस्पताल तथा स्वास्थ्य केन्द्र, आइसोलेसन, क्वारेन्टाइन क्षेत्र र भीडभाड भएका ठाउँमा अग्रभागमा रहेर समाचार संकलन गर्नुपर्ने बाध्यता भएकाले पूर्ण स्वास्थ्य सकतर्कता अपनाउन सबै सञ्चारकर्मीहरुलाई महासंघले आह्वान गरेको छ । प्रदेश अन्तरगत १० जिल्लामा पछिल्लो अपडेट अनुसार ३१ जना सञ्चारकर्मी संक्रमित भई स्वास्थ्यउपचार गराइरहेका छन् ।
संक्रमित मध्ये मकवानपुरमा १०, रामेछापमा ६, काभ्रेमा ४, चितवनमा ३, धादिङमा ३, सिन्धलीमा २, नुवाकोटमा १, सिन्धुपाल्चोकमा १ र दोलखामा १ जना छन् । महासंघ बागमती प्रदेश समितिले कोरोना संक्रमित भई स्वास्थ्य उपचारमा रहेका सबै सञ्चारकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।