शुक्रबार साँझ हेटौंडा अस्पतालमा उपचारको क्रममा थप दुई संक्रमितको मृत्यु
शुक्रबार हेटौंडा अस्पतालको कोभिड एच डि यु (High Dependency Unit) मा उपचाररत थप दुई संक्रमितको मृत्यु भएको छ । हेटौडा ४ की ३७ वर्षकी महिलाको साँझ पौने ५ बजे र हेटौडा ७ का पुरुषको साँझ ५ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभएको छ । योसंगै हेटौडा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
यस्तै मनहरीका एक संक्रमितको पनि होम आइसोलेसन मै ज्यान गएको थियो । मकवानपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको थियो भने दोस्रो प्रजातीको कोरोना संक्रमणबाट जिल्ला अस्पतालमा ९ जना र होम आइसोलेसन १ जनाको मृत्यु भएको हो ।
यसैबीच, मकवानपुर शुक्रबार १ सय १४ जना कोरोनाका संक्रमित थपिएका छन् । कोरोना संक्रमण पुष्टि हुनेहरु मध्ये १ सय ९ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । ती मध्ये सबैभन्दा बढी २८ जना वडा नम्बर ४ मा संक्रमित भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर १ मा ५ जना, वडा नम्बर २ मा १३ जना, वडा नम्बर ५ मा १५ जना, वडा नम्बर ६ मा ३ जना, वडा नम्बर ७ मा १ जना, वडा नम्बर ८ मा ७ जना, वडा नम्बर ९ मा १८ जना, वडा नम्बर १० मा १० जना, वडा नम्बर ११ मा ५ जना संक्रमित थपिएका हुन् । यस्तै वडा नम्बर १२, १३ र १४ मा १र १ जना संक्रमित थपिएको चौलागाईले जानकारी दिनुभयो ।
यस्तै थाहा नगरपालिका, मनहरी ७ मा १र १ जना संक्रमित थपिएका छन् भने एक जनाको ठेगाना खुल्न नसकेको तथा अर्का एक संक्रसमत जिल्ला बाहिरका रहेको चौलागाईले जानकारी दिनुभयो । एक सय ७४ जनाको स्वाब संकलन गर्दा एक सय १४ जनामा संक्रमण पष्टि भएको हो । जाँच गरिएका मध्य ६५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । संक्रमित भएकाहरुमा ५ जना बालबालिका रहेको छन् ।