राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज मनोनयन दर्ता हुँदै
बागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ ।
बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी सदने समय तोकिएको निर्वाचन आयोगको कार्यालय हेटौडाले जनाएको छ । एमाले प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त छ ।
माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले सङ्घीयता विज्ञ डाक्टर खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छ। एमालेले भने रामबहादुर थापालाई नै उम्मेदवार बनाउने भने पनि टुङ्गो लगाएको छैन।
एमालेबाहेकका दल र माधव नेपाल पक्ष एकैतिर हुँदा आफू पराजित हुन सक्ने भन्दै थापाले उम्मेदवारी दिन रुची देखाउनुभएको छैन् । तर ओली पक्षले भने माधव नेपाल पक्षको मत पनि आउने भन्दै थापालाई नै फकाउने कोशिस गरिरहेको छ ।
बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपचुनावमा एक सय १० जना प्रदेशसभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरेर तीन सय ४८ मतदाता रहेका छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र पालिकाका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ ।