कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गर्न कांग्रेसको माग
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ ।
संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बिहिबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीसहित सबै खाले महामारीका विरामीको निःशुल्क उपचारको व्यवस्था गर्न संघीय र प्रदेश सरकारसंग माग गर्नु भएको हो । प्रदेशका विभिन्न स्वास्थ संस्थामा आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभाव देखिन थालेको भएपनि संघीय र प्रदेश सरकारमा चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यता देखिएको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले कोरोना संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अस्पताल बेड, आइसियु बेड, अक्सिजन र भेन्टिलेटर लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधी र अन्य आवश्यक स्वास्थ्य सामग्रीहरुको तत्काल समुचित व्यवस्था गर्न माग गरेको छ ।
उसले देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुको पिसीआर परिक्षणलाई व्यापक बनाउन माग गर्दै कोरोनाको जोखिम न्युनिकरण अभियान स्वास्थ्यकर्मी र कर्मचारी प्रशासनको प्रयासबाट मात्रै सम्भव नहुने भएकाले जनप्रतिनिधिसंग सहकार्यका लागि संयन्त्र तयार गर्न सुझाव दिएको छ ।
यस्तै प्रदेशका विभिन्न नाकाहरुमा स्वास्थ जाँचका लागि हेल्थ डेस्क राखी परीक्षण र शंकास्पदलाई होल्डीङ केन्द्रमा राख्ने व्यवस्था गर्न र प्रदेशका सबै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न माग गर्दै स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीहरुलाई विमा एवं जोखिम भत्ता तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ ।
त्यस्तै, बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरुमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गर्न कांग्रेस बागमती प्रदेश संसदीय दलले माग गरेको छ । कोरोना जोखिम न्युनिकरणका लागि प्रदेशमा रहेको विपद व्यवस्थापन कोष र कोरोना रोकथाम, नियन्त्रण एवं उपचार कोषको तत्काल प्रभावकारी परिचालन गर्नुपर्ने, स्वास्थ्य सामग्री र खोप खरिदका क्रममा भएका अनियमितताबारे छानवीन गरि दोषीलाई कारवाही हुनुपर्ने कांग्रेसको भनाई छ ।
खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनैतिक पहल गर्नुपर्ने, लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरुको आपूर्ति र आवतजावतलाई सहज हुनुपर्ने, विदेश जानेहरुलाई आवश्यक पिसिआर परिक्षण गर्ने अस्पतालहरुको संख्या बढाइनुपर्ने माग समेत गरिएको छ ।
त्यस्तै, लकडाउनका कारण दैनिक ज्याला गरी खाने श्रमिक बर्ग आर्थिक एवं सामाजिक समस्यामा परेको र खाली पेटले रोगसंग लड्न नसक्ने भएकाले दैनिक ज्यालादारी श्रमिक र विपन्न सर्वसाधारणलाई पौष्टिक आहारका लागि राहतको व्यवस्था गर्न माग गरिएको छ ।
विज्ञप्तिमा साना, घरेलु एवं स्वरोजगारमुलक व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउनुपर्ने, मास्क अनिवार्य लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डहरुलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजवुत गरिनुपर्नेमा जोड दिईएको छ ।
कोरोना संक्रमण जोखिम न्युनिकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग सहकार्यका लागि तत्पर रहेको अवगत गराउँदै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कोरोना भाइस र संक्रमणबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न हार्दिक अनुरोध गरेको छ ।