संचार क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संचार क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको टोलीसँग बिहीबार भेटघाट गर्दै मुख्यमन्त्री पौडेलले संचार क्षेत्रका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश सरकारले संचार क्षेत्रको विकासमा यस अघि पनि विभिन्न योजना अघि सारेको र प्रदेशमै पहिलो प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेर त्यसमार्फत संचार क्षेत्रका समस्या समाधानमा टेवा पुगेको दाबी गर्नुभयो ।
मुख्यमन्त्री पौडेलले आगामी दिनमा पनि पत्रकार महासंघमार्फत समानुपातिक विज्ञापन, जिल्ला महासंघ शाखामा सूचना केन्द्र स्थापनाका लागि आगामी आर्थिक बर्षमै नीति तथा कार्यक्रम र बजेटमा व्यवस्थापन गरिने भन्दै उहाँले भन्नुभयो ( सरकार पत्रकार र संचारमाध्यमको बृद्धि विकासका लागि सकारात्मक छ । मुख्यमन्त्री पौडेलसँग भेटघाटकै क्रममा महासंघका अध्यक्ष शिव देवकोटाले मुख्यमन्त्री पौडेलसमक्ष प्रस्ताव पत्र पेश गर्नु भएको छ ।
संचारग्राम निर्माण र संचालन, प्रदेशभित्र संचालित संचारमाध्यममा समानुपातिक विज्ञापन, संचारक्षेत्रलाई उद्योगमा समेटन र मान्यता दिनुपर्ने, सुत्केरी पत्रकार महिला र कोरोना संक्रमित पत्रकारलाई लेखनवृत्ति, स्नातक र स्नात्तकोत्तर अध्ययनका लागि संचारकर्मीलाई छात्रबृत्ति वितरणलगायत माग राख्दै प्रस्ताव पत्र बुझाइएको हो ।
भेटघाटमा महासंघका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, सदस्यहरु सुदीप शिवाकोटी र रामहरि गजुरेलको उपस्थिति रहेको थियो ।