हतारको निर्णय फुर्सदमा पछुतोः हेटौंडाका विभिन्न स्थानमा जडीत स्यानिटाइजर मेसिन अलपत्र(तस्विरहरु)
नेपालमा दोस्रो भेरियन्टको कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ । देशभरी जस्तै बागमती प्रदेशको राजधानी हेटौंडामा पनि कोरोनाको जोखिम कम गर्न भन्दै निषेधाज्ञा लागू गरिएको छ ।
स्थानिय प्रशासनले कोरोनाको जोखिमबाट सर्वसाधरणलाई बचाउन कुनै कसर बाँकी नराख्ने बताइरहँदा अघिल्लो कोरोना लहरका बेला गरेको केहि निर्णयले भने प्रदेश सरकारलाई गिज्याइरहेको छ ।
बागमती प्रदेश सरकारले कोरोनाको जोखिम कम गर्न भन्दै तराईका जिल्ला हुँदै हेटौंडा प्रवेश गर्ने मुख्य नाका रातोमाटे-१५ मा अटोमेटिक स्यानिटाइजर मेसिन जडान गरेको थियो । करिब ३ लाख लागतमा गाडी सहित स्यानिटाइज गर्ने गरी जडान गरिएको उक्त मेसिन अहिले त्यसै थन्किएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नु भएको उक्त मेसिनले अहिले हेटौडा प्रवेश गर्ने जो कोहीलाई गिज्याइरहेको छ ।
उपमहानगरपालिका कार्यालय परिसरमा पनि स्यानिटाइजर मेसिन जडान गरिएको थियो । यी दुईवटा मेसिन जडान गर्दाको खर्च ५ लाख भन्दा बढी छ । तर मेसिनको उपयोगिता भने सुन्य छ ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मेसिनलाई पुनः प्रयोग गर्ने वा कार्यालय परिसरबाट हटाउने बारे डिसीसीएमसीको बैठकमा छलफल गर्ने बताउनुभयो । कुनै योजना बिना मेसिन जडान गर्दा खर्च मात्रै बढ्यो नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो-” त्यतीबेलाको अवस्थामा यो निर्णय ठिक थियो । पछि स्वास्थ्यका अनेक थरी कुराहरुले यो फेल खायो ।”
यस्तै उपमेयर मिना लामाले मेसिनमा स्यानिटाइज गर्दा एलर्जी हुने खालको समस्या देखिएपछि बन्द गरिएको भन्दै बैठकबाट पुनः प्रयोग वा हटाउने बारे निर्णय हुने बताउनुभयो ।
विभिन्न संघसंस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको मेसिन पनि अलपत्र छ ।
हुनत प्रदेश सरकारले तामझामका साथ उद्घाटन गरेको स्यानिटाइजर मेसिन मानव स्वास्थ्यको लागि हानिकारक र कोरोना संक्रमणबाट बच्न उपयोगी नहुने चिकित्सकको सुझावपछि जडानको केहि समयमै बन्द गरिएको थियो ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवत्ता पुरुषोत्तम सेढाईले स्यानिटाइजर मेसिन जडान गर्नु आपतकालिन अवस्थाको हतास मानसिकता भन्नुभएको छ । उहाँले विश्वमा कतै भएका अनुभवको आधारमा निर्णय भएको भएपनि पछि मानव स्वास्थ्यमा असर गर्ने पत्ता लागेपछि बन्द गरिएको बताउनुभयो ।
सम्बन्धित निकायसंग परामर्श बिना नै हतारमा मेसिन जडान गर्दा खर्च त बढको छ नै कोरोना जोखिम कम गर्न यसको विकल्पमा गर्न सकिने कामहरु प्रति कसैको ध्यान गएको छैन ।