बागमती प्रदेश प्रहरी कार्यालयबाट एक बर्षमा ६५१ पुरस्कृत, २०३ प्रहरीलाई कारवाही
बागमती प्रदेश प्रहरी कार्यालयले पछिल्लो एक बर्षमा आफ्ना ६ सय ५१ प्रहरीलाई कुशलता पूर्वक कार्यसम्पादन गरेकोमा सम्मान गरेको छ ।
शुक्रबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) बसन्तकुमार लामाले चालु आर्थिक बर्ष २०७७ बैशाखदेखि चैतसम्ममा प्रदेश मातहतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई कुशल कार्यसम्पादन गरेको भन्दै सम्मान गरेको हो । उत्कृष्ट प्रहरी छनौट कार्यविधि लागु गर्दै प्रत्येक महिना १६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने गरेको डिआइजी लामाले बताउनुभयो ।
यस्तै कार्यालयले २ सय ३ प्रहरी कर्मचारीलाई कारवाही समेत गरेको छ । चालु आर्थिक बर्ष २०७७ बैशाखदेखि चैतसम्ममा प्रदेश मातहतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत रही प्रहरी आचारण विपरित काम गर्ने २ सय ३ प्रहरीलाई कारवाही गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यालयले प्रहरीलाई घुस दिन खोज्ने १८ सय ७० जना चालक कारवाही र ३४ लाख रुपैंया घुस रकम फिर्ता गराईएको जनाएको छ । यस्तै यस बर्ष ८३३ विगाह गाँजा खेति र १०३ बिगाह अफिम खेति नष्ट गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
कार्यालयले प्रदेशका विभिन्न नाकाका २२ स्थानमा सिसिटिभि क्यामारा जडान गरेको र प्रहरी दर्पण टेलिभिजन कार्यक्रम संचालन गरिरहेको जनाईएको छ । भौतिक पूर्वाधारतर्फ यसबर्ष २ ईलाका, एक जिल्ला ट्राफिक, ८ प्रहरी चौकीका लागि निःशुल्क जग्गा प्राप्त गरेको र चालु आर्थिक वर्षमा ४८ वटा प्रहरी कार्यालय निर्माण सम्पन्न भएको र २१ वटा प्रहरी कार्यालय निर्माणधिन रहेको जानकारी दिईएको थियो ।
२९ करोडको लगानीमा १०५ कोठा अत्याधुनिक प्रदेश प्रहरी कार्यालयको इ-विडिङ प्रकृया भइसकेको र छिटै निर्माण प्रकृया शुरु हुने बताउँदै डिआईजी लामाले हेटौंडा–१५ रातोमाटेमा चेकपोइन्ट निर्माणका लागि १४ करोड लागत रहेको र २ करोड स्वीकृत भईसकेको जानकारी दिनुभएको प्रष्टखबरले लेखेको छ ।
उहाँले यसबर्ष प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई १ अर्ब १२ करोड भौतिक पूर्वाधारका लागि विनियोजन गरेको समेत जानकारी दिनुभयो । नुवाकोट र काभ्रेमा प्रहरी गोदाम घरका लागि १ करोड विनियोजन भएको, २२ थान मोटरसाइकल र १२ थान गाडी खरिद प्रकृयाका लागि प्रदेश सरकारको ४ करोड लगानीमा खरिद प्रकृया अघि बढेको जनाईएको छ ।