सवारी आवागमनमा जोरविजोर प्रणाली लागू गर्ने मकवानपुर प्रशासनको निर्णय
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मकवानपुर प्रशासनले सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले जिल्लामा गरेको परिपत्र अनुसार भीडभाड नगर्न, माक्सको अनिवार्य प्रयोग, शैक्षिक संस्था बन्द लगायत विभिन्न निर्णय गरेसंगै मकवानपुर प्रशासनले जोरविजोर प्रणाली लागु गर्ने समेत निर्णय गरेको छ ।
कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले बजारभित्र सवारी साधनको उच्च चाप बढेकाले आइतबार १२ गतेबाट लागु हुने गरी नीजि सवारी साधनमा जोरविजोर प्रणाली लागु गरी संचालन गर्न गराउन निर्देशन दिएको हो ।
प्रशासनले निजीसंगै अटो, ईरिक्सा, मयुरी, म्याजिक र टेम्पोलाई समेत जोरविजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।
यस निर्णयसंगै प्यार्टी प्यालेस, वैशाख मसान्त सम्म शैक्षिक संस्था, वनभोज खाने पार्कहरु बन्द गरिनुका साथै सार्वजनिक स्थलमा माक्स नलगाई हिड्नेलाई संक्रमण रोग ऐन, २०३० बमोजिम कारवाहीको लागि प्रजिअ समक्ष सिफारिस गरिने छ ।
बैठकले सहायक प्रजिअको संयोजकत्वमा अनुगमन समिति तयार पारी अनुगमनलाई तिव्रता दिने जनाएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी सहित स्थानीय तहका प्रमुख तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।