भीमफेदी–कुलेखानी सडक शुक्रबारदेखि डेढ महिना बन्द
हेटौंडा–काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत भीमफेदी–कुलेखानी सडक पीच गर्न डेढ महिनाका लागि वन्द गरिएको छ । बैशाख १० अर्थात शुक्रबार आजदेखि देखि जेठ २५ गतेसम्मका लागि सडक बन्द गरिएको बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।
भीमफेदी–कुलेखानीको सडक फराकिलो पार्ने काम सकेर अहिले भने स्लाब ढलान र पीचको काम गर्न लागिएको हो । सडकका धेरै स्थानमा यसअघिनै स्लाब ढलान समेत गरिएको जनपत्रले लेखेको छ ।
यसअघि पनि दुइमहिना सडक बन्द गरेर मोड र अप्ठेरो स्थानमा स्लाब ढलान गरिएको थियो । सडकको ८० प्रतिशतको काम सकिएको र अब पीच गर्ने काम मात्र बाँकी रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक डाक्टर सहदेब बहादुर भण्डारीले जानकारी दिनुभयो ।
भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँगरी ३४ करोड बजेट विनियोजन भएको थियो । भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ भने ढल तथा पर्खाल निर्माण गरिएको छ ।
मदनभण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उहाँले जानकारी दिनुभयो ।